नेभिगेशन
समाचार

‘देशमा शान्ति सुरक्षा कायम गर्न सरकार प्रतिबद्ध’

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियताको रक्षाका निम्ति आफू सधैँ अग्रपंक्तिमा रहेको बताएका छन् । 

ज्ञापनपत्र बुझाउन आएका राष्ट्रिय जनमोर्चाका नेताहरूसँग आज बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले देशमा शान्ति सुरक्षा सुदृढ गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

उनले बैठकस्थलबाटै नेपाल प्रहरीका महानिरीक्षकसँग सम्पर्क गरी जनमोर्चाको ज्ञापनपत्र सम्बोधन हुने गरी शान्ति सुरक्षाको व्यवस्था गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

जनमोर्चाका नेताहरूसँगको भेटमा प्रधानमन्त्री दाहालले आफ्नो राजनीतिक जीवन राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा नै भएको स्मरण गराउँदै संघीयताबाहेक अन्य सबै मुद्दामा आफू जनमोर्चासँगै रहेको बताए ।

सो अवसरमा जनमोर्चाका नेताहरूले राष्ट्रियताका पक्षमा प्रधानमन्त्री दाहालले खेलेको भूमिकाको प्रशंसा गर्दै राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने उनको अडानले मुलुकमा राजनीतिक स्थिरता र संविधानको रक्षा हुने बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको नेतृत्वमा आएको टोलीले प्रधानमन्त्री दाहाललाई भेटेर राष्ट्रियता, संघीयता र जनजीविकाका सवाल समेटेर ज्ञापनपत्र पेस गरेको थियो ।

भेटमा केसी नेतृत्वको टोलीले पछिल्लो अवधिमा बागलुङको गलकोट क्षेत्रमा महिलाका गरगहना लुट्नुका साथै ४ जनाको हत्या गरिएको भन्दै सरकारको ध्यानाकर्षण गराएको थियो ।

अन्य जिल्लामा पनि गरगहना लुटपाटका घटना बढेको र महिला असुरक्षित भएको भन्दै जनमोर्चाले सरकारको ध्यानाकर्षण गराएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार