Nic Ad Nic Ad
Nic Ad Nic Ad

डाक्टर नहुँदा सुत्केरी सेवा ठप्प

शुक्रबार, फागुन ५, २०७९

पर्वत– जिल्ला अस्पताल पर्वतमा १ महिनादेखि सुरक्षित सुत्केरी सेवा ठप्प बनेको छ । सुरक्षित सुत्केरी सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई समस्या भएको छ । 

जिल्ला अस्पतालका चिकित्सक लामो समयसम्म उपलब्ध नहुँदा प्रसूति सेवा बन्द छ । अस्पतालमा जलजला, फलेवास, कुश्मा र मोदी, महाशिला र विहादीका सेवाग्राही सेवा लिन आउने गर्छन् ।

छिमेकी जिल्ला बागलुङको दक्षिणी क्षेत्र जैमिनी नगरपालिकाका सर्वसाधारण पनि यहाँ उपचारका लागि आउने गर्छन् ।

१ महिनादेखि चिकित्सक नहुँदा प्रसूति गराउनका लागि पोखरा, काठमाडौँलगायत ठाउँ पुग्नुपर्ने अवस्था छ ।

पर्वतको कुश्मा नगरपालिका–३ आम्बोटकी कुमारी रेग्मी प्रसूति ब्यथाले च्यापेर झन्डै १० किलोमिटर सडक यात्राबाट बिहीबार पर्वत अस्पताल पुग्दा चिकित्सक नभएपछि फर्किएर पोखरा जान बाध्य भएको स्थानीय नवराज क्षेत्रीले बताए ।

१ महिनाअघि आफूलाई पनि यस्तै समस्या परेको उनले बताए । रेग्मी जस्तै दैनिक अन्य गर्भवती र सुत्केरी उपचारका लागि यहाँ आउने गरे सेवा पाउन सकेका छैनन् । 

जिल्लाका अन्य स्वास्थ्य संस्थामा जटिल खालका गर्भवती सुत्केरी गराउनका लागि शल्यक्रिया सेवा नहुँदा पर्वत अस्पतालमै आउनुपर्ने बाध्यता छ । सेवा नपाएपछि पोखरा तथा काठमाडौँ रिफर गर्नुपरेको अस्पतालले जनाएको छ । 

जिल्ला अस्पताल पर्वतकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रुक्मिणा अधिकारीका अनुसार अस्पतालमा कार्यरत चिकित्सक डा। हेमन्त बराल १ महिनादेखि तालिममा छन् । 

अस्पतालमा थप दरबन्दी वा वैकल्पिक जनशक्ति व्यवस्थापन गर्न सम्बन्धित निकायलाई अनुरोध गरिएको उनले बताइन् ।

पर्वत अस्पतालमा मासिक ३० देखि ३५ जनासम्मले सुत्केरी सेवा लिँदै आएका थिए । अहिले सामान्य अवस्थाका बाहेक सबैजसो पोखरा र काठमाडौँ जाने गरेका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  १०:१५
प्रतिक्रिया दिनुहोस्