आर्यघाटमा पुर्याएको शवमाथि पनि व्यापार हुन्छ : पूर्वप्रधानन्यायाधीश कार्की
काठमाडौँ– पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले शिक्षामा व्यापार गरिरहेको आरोप लगाएकी छिन् ।
शुक्रबार डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएकी हुन् ।
सरकारले शिक्षा, स्वास्थ्यसहितका हरेक कुरामा व्यापार गरिरहेको बताउँदै उनले शिक्षा र स्वास्थ्यमा भइरहेको व्यापारका कारण अधिकांश आर्थिक स्थिति कमजोर रहेका नेपालीले छोराछोरीलाई अध्ययन गराउन नसकेको बताइन् ।
उनले सरकारले दिइरहेको स्कलरसिप र सहुलियत कसले पाउँछ भन्ने पनि थाहा नहुने गरी काम भइरहेको भन्दै आपत्ति जनाइन् ।
आर्यघाटमा पुर्याइएको शवमाथि पनि व्यापार हुने र जलाउन चन्दा संकलन गर्नुपर्ने अवस्था समाजमा देखिएको उनको भनाइ थियो ।
‘आफ्ना घरका सन्तानलाई राम्रोसँग पढाएको रहेछ भने सन्तान राम्रोसँग पढ्नु नै सम्पत्ति हो । छोराछोरीले कमाएर खाएको घर नै उज्यालो र राम्रो हुन्छ,’ उनले भनिन्, ‘तर, शिक्षा व्यापार भएको छ । पहिला त्यस्तो थिएन । पहिला गरिबका बच्चाले पनि चाहँदा पढ्न सक्थे । गरिबका छोराछोरी पनि डाक्टर बन्न सक्थे । अब त आर्यघाटमा जल्न त महँगो भइसक्यो । कसले डोनेसन देला र दाहसंस्कार होला, कसले डोनेसन देला र लास जल्ला भन्ने भइसक्यो ।’
पूर्वप्रधानन्यायाधीश कार्कीले शिक्षामा व्यापार हुन्जेलसम्म सामाजिक उत्थान हुन नसक्ने बताइन् ।
उनले नागरिकलाई गास, बास र कपासका साथै शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता सरकारले गर्न नसकेको भन्दै राजनीतिक दलहरू एउटा कर्सीका लागि भिडेर बसिरहेको बताइन् ।
सरकारमा बस्नेहरू सबै व्यापारी भएको उनको भनाइ थियो ।