नेभिगेशन
सुरक्षा–अपराध

बैतडीमा ३ वर्षमा १३० शिशुको मृत्यु

बैतडी–सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा ३ वर्षमा १३० नवजात शिशुको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०७६÷७७ देखि आव २०७८÷७९ सम्म ती शिशुको मृत्यु भएको हो । 

यहाँ हरेक वर्ष नवजात शिशु मृत्युदर बढ्दै गएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

आव २०७६÷७७ मा ३१, आव २०७७÷७८ मा ४८ नवजात शिशुको मृत्यु भएको थियो । गत आवमा ५१ नवजात शिशुको मृत्यु भएको उनले जानकारी दिए ।

गत आवमा सबैभन्दा बढी पुर्चौंडी नगरपालिकामा १३ नवजात शिशुको मृत्यु भएको थियो ।

यस्तै, मेलौली नगरपालिकामा ११, सिगास गाउँपालिकामा ६, दशरथचन्द र पाटन नगरपालिकामा ५÷५, डिलाशैनी र शिवनाथ गाउँपालिकामा ४÷४ तथा सुर्नया गाउँपालिकामा २ नवजात शिशुको मृत्यु भएको छ । 

स्वास्थ्य संस्थामा दक्ष प्रसूतिकर्मी नहुनु, सुत्केरी हुन स्वास्थ्य संस्था नजानुलगायत कारणले नवजात शिशुको मृत्यु हुने गरेको छ ।

समयअगावै बच्चा जन्मिनु, नवजात शिशुमा संक्रमण हुनु र निस्सासिएर पनि शिशुको मृत्यु हुने गरेको स्वास्थ्य प्रमुख भट्टको भनाइ छ । 

जिल्लामा १३० सुरक्षित प्रसूति सेवा केन्द्र सञ्चालनमा छन् । नवजात शिशुको मृत्यु रोकथामका लागि स्थानीय तहले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्नेमा सरोकारवालाको जोड छ ।

स्वास्थ्यका सम्पूर्ण अधिकार स्थानीय तहमा रहेका भए पनि स्थानीय तहले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा नराख्दा विभिन्न समस्या देखिन थालेका छन् । -रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध