अबको राष्ट्रपति कांग्रेसबाटै : सिंह
काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अबको राष्ट्रपति कांग्रेसबाटै बन्ने दाबी गरेका छन् ।
शुक्रबार नेपाल जेसिजले आयोजना गरेको कार्यक्रममा नेता सिंहले कांग्रेसको राष्ट्रपति उम्मेदवारलाई सबैको समर्थन हुने र अबको राष्ट्रपति कांग्रेसबाटै बन्ने दाबी गरेका हुन् ।
उनले शक्ति सन्तुलन मिलाउन पनि कांग्रेसले अघि सार्ने उम्मेदवारमा राष्ट्रिय सहमति खोज्ने जिकिर गरे ।
संसद्को पहिलो दल कांग्रेस भएकाले पनि राष्ट्रपतिमा आफूहरूको दाबी स्वाभाविक हुने उनको भनाइ छ ।
त्यस्तै, नेता सिंहले संविधानले दिएका अधिकार कार्यान्वयनमा ल्याउन विधिको शासन कायम हुनुपर्नेमा जोड दिए ।
कांग्रेसले व्यवस्था परिवर्तन गरेर लोकतान्त्रिक प्रणाली स्थापित गरेको तर यसलाई संस्थागत गर्नका लागि भने धेरै काम गर्न बाँकी रहेको सिंहले बताए ।
उनले संघीय संसद्ले संविधान कार्यान्वयनका लागि आवश्यक ऐन बनाउनुपर्ने पनि बताए ।