न्युजिल्यान्डमा चक्रवातका कारण ८ जनाको मृत्यु
वेलिङ्टन– न्युजिल्यान्डको उत्तरी टापुमा यस साता आएको चक्रवात ‘ग्याब्रिएल’का कारण आएको बाढी र पहिरोमा परी ८ जनाको मृत्यु भएको छ ।
चक्रवात र यसका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा ३ हजार ५०० भन्दा बढी बेपत्ता भएका छन् ।
सन् २०११ को फेब्रुअरीमा क्राइस्ट चर्चमा गएको भूकम्पपछि न्युजिल्यान्डमा अहिलेसम्म नदेखिएको उक्त प्रतिकूल प्राकृतिक घटनाका कारण करिब १० हजार मानिस विस्थापित भएको अधिकारीहरूले बताएका छन् ।
प्रधानमन्त्री क्रिस हिपकिन्सले शुक्रबार हक्स बेमा सञ्चारकर्मीसँग भने, ‘यो हाम्रो देशमा यो शताब्दीमा देखिएको सबैभन्दा ठुलो प्राकृतिक प्रकोप हो । आँधीका कारण धेरै नागरिकले ज्यान गुमाएको हुन सक्ने बताइएको छ ।’
प्रहरीका अनुसार २ वर्षीया बालिका बिहीबार बाढीमा फसेको अनुमान गरिएको छ । अकल्यान्डको मुरीवाईमा बिहीबार गएको पहिरोमा परेर १ स्वयंसेवक अग्निनियन्त्रकको शव पनि फेला परेको थियो ।
न्युजिल्यान्डका अन्य भागबाट ७० जनाभन्दा बढी कर्मचारीलाई हक्स बे र तायराविटीमा पुनः खटाइएको प्रहरीले जनाएको छ ।
‘दूरसञ्चार सेवा, अनलाइनमा आउन थालेपछि हराएका व्यक्तिहरू, फेला परेका व्यक्तिहरू, सम्पत्तिको क्षति, खाद्यान्न, पानी र इन्धन जस्ता आधारभूत स्रोतहरूको मागको संख्यामा वृद्धि हुने अनुमान छ,’ प्रहरीले जनाएकोे छ ।
न्युजिल्यान्डले सोमबार देशको इतिहासमा तेस्रो पटक आपतकालीन अवस्थाको घोषणा गरेको छ । उत्तरी टापुमा व्यापक रूपमा विद्युत कटौती, उडान रद्द र विद्यालय बन्द गरिएको छ ।
अकल्यान्ड र आसपासको क्षेत्र वाइकाटोमा भारी वर्षा र बाढीका कारण डुबानमा परेको २ सातापछि मात्र यो घटना भएको हो । २ साताअघि देशको सबैभन्दा ठुलो सहर अकल्यान्डमा भएको यस विपत्तिमा परी ४ जनाको मृत्यु भएको थियो ।