Nic Ad Nic Ad
Nic Ad Nic Ad

भदौभित्र सार्वजनिक बिदा पुनरावलोकन गरिने

शुक्रबार, फागुन ५, २०७९

काठमाडौँ– सरकारले आगामी भदौसम्ममा सार्वजनिक बिदाको पुनरावलोकन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता रेखा शर्माले सार्वजनिक बिदा निर्धारण गर्नका लागि भदौभित्र बिदाको पुनरावलोकन गर्ने निर्णय भएको जानकारी दिइन् ।

उनले पुस २७ गते पृथ्वी जयन्ती र फागुन १ गते जनयुद्ध दिवसको बिदा थप गरी वर्षका सबै बिदा क्यालेन्डरमा उल्लेख गर्न अनुमति दिने र २०८० साल भदौभित्र सार्वजनिक बिदाको पुनरावलोकन गरिने बताइन् ।

बैठकले संसद्मा रहेको संवैधानिक परिषद्सम्बन्धी पहिलो संशोधन विधेयक २०७९ फिर्ता लिने र छिट्टै यससम्बन्धी अर्को विधेयक पेस गर्ने निर्णय गरेको छ ।

यस्तै, लगानी कम्पनी स्थापना गर्दा पालना गर्नुपर्ने विषय तथा शर्त नेपाल राजपत्रमा प्रकाशित गर्न स्वीकृति दिने निर्णय भएको छ ।

बैठकले बर्डफ्लू रोग नियन्त्रणका क्रममा आर्थिक वर्ष २०७८÷७९ मा प्रचलित कानुन बमोजिम नष्ट गरिएका वस्तुहरूका लागि राहत प्रदान गर्ने गरिएको प्रवक्ता शर्माले बताइन् ।

त्यस्तै मन्त्रिपरिषद्ले फागुन १५ देखि १८ गतेसम्म स्विट्जरल्यान्डको जेनेभामा आयोजना हुने संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५२औँ सत्रमा परराष्ट्रमन्त्रीको नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति दिने निर्णय गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  १५:२१
प्रतिक्रिया दिनुहोस्