Nic Ad Nic Ad
Nic Ad Nic Ad

स्कटल्यान्डमाथि नेपालको शानदार जित

शुक्रबार, फागुन ५, २०७९

काठमाडौँ– आइसिसी पुरुष क्रिकेट वर्ल्डकप लिग–२ मा स्कटल्यान्डसँगको खेलमा नेपालले जित निकालेको छ ।

निर्धारित ५० ओभरको एक दिवसीय खेलमा नेपालले स्कटल्यान्डलाई ३ विकेटले पराजित गरेको हो ।

पहिले ब्याटिङ गरेको स्कटल्यान्डले पूरै ५० ओभर खेल्दै २७४ रन बनाएको थियो ।

स्कटल्यान्डका लागि सातौं नम्बरमा आएका ब्याट्सम्यान माइकल लेक्सले सर्वाधिक १०७ रन बनाएका थिए । उनले ८५ बलमा सो स्कोर बनाएका हुन् ।

नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए । आजको खेलमा सर्वाधिक सफल बलर सावित भएका लामिछानेले १० ओभर बलिङ गर्दा २७ रन दिएर ३ विकेट लिएका हुन् ।

यस्तै, कुशल मल्लले २ विकेट लिए भने सोमपाल कामी, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए । 

२७५ रनको लक्ष्य पछाएको नेपालका लागि ओपनर कुशल भुर्तेलले विस्फोटक सुरुआत गरे । तर, उनी लामो समय क्रिजमा टिक्न सकेनन् ।

कुशल ८ बलमा १६ रन बनाएर आउट भए । अर्का ओपनर आसिफ सेफ पनि १४ बलमा ९ रन बनाएर आउट भएका थिए ।

नेपालले पहिलो विकेट ३१ रनमा गुमाएको थियो भने दोस्रो विकेट खस्दा जम्मा ३५ रन मात्रै भएको थियो । त्यसपछि क्रिजमा आएका ज्ञानेन्द्र मल्ल र रोहित पौडेल पनि धेरैबेर टिकेनन् ।

मल्लले ३ बलमा ४ रन मात्रै बनाए भने पौडेल पनि १० बलमा ६ रन बनाएर आउट भए ।

सो समयमा धर्मराएको नेपाली टिमको ब्याटिङ कुशल मल्लले सम्हाले । कुशलले ६७ बलमा ८१ रनको शानदार पारी खेले । सन्दीप जोरा ८ बलमा ५ रन बनाएर पेभेलियन फर्के । 

आजको खेलमा दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट ब्याटिङ गरे । ऐरीले ११६ बलमा नटआउट ८५ रन बनाए ।

यस्तै, गुलसन झाले २८ बलमा १७ रन बनाएका थिए भने सोमपाल कामीले ३२ बलमा नटआउट २४ रन बनाए । नेपालले ४७औँ ओभरमा लक्ष्य पूरा गरेको थियो ।

बलिङतर्फ भने स्कटल्यान्डका २ खेलाडीले ३/३ विकेट लिए । सर्वाधिक महँगो सावित भएका स्कटल्यान्डका बलर क्रिस सोलले १० ओभरमा ७२ रन दिएर ३ विकेट लिएका थिए ।

यस्तै, अर्का बलर मार्क वाटले १० ओभरमा ४३ रन दिएर ३ विकेट लिए । १ विकेट भने माइकल लेक्सको खातामा रह्यो ।

प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  १६:४५
प्रतिक्रिया दिनुहोस्