ऐतिहासिक जनक्रान्ति
पिताजी कृष्णप्रसाद कोइरालाले १९७४ सालको असोजदेखि निर्वासित भएर भारतको बनारस र अन्य विभिन्न स्थानमा रहनुपर्यो । परिवारका सम्पूर्ण सदस्यसँगै ३ वर्षका बालक बिपी कोइरालाले पनि शरणार्थी भएर रहनुपर्यो ।
नेपालको राणा शासनलाई निकै पहिलेदेखि भारतको ब्रिटिस औपनिवेशिक सरकारको समर्थन थियो । राणा विरोधी गतिविधिमा भारत सरकारको कडा नियन्त्रण थियो । त्यसैले भारतबाट ब्रिटिस औपनिवेशिक शासन नहटेसम्म त्यसको आडमा टिकेको नेपालको एकतन्त्रीय राणा शासनलाई समाप्त पार्न सकिन्न भन्ने वस्तुपरक धारणा पिताजीको थियो ।
यही धारणामा पिताजीले आफूलाई सधैँ दोहोरो संघर्षमा संलग्न गराइरहनुभयो । नेपालको राणा शासन विरोधको संघर्ष र भारतको ब्रिटिस औपनिवेशिक शासनको विरोधको संघर्षमा । यही वातावरणमा बालक बिपी कोइरालाको चेतनाका आँखाहरू खुल्दै गए । आफू ६ वर्ष पुग्दानपुग्दै बिपीले गान्धीजीको असहयोग आन्दोलनको आह्वानमा सरकारी स्कुल बहिस्कार गर्नुभयो र घरघरबाट विदेशी कपडा जम्मा गरेर बनारसका टोलटोलमा तिनीहरूलाई जलाउने बाल समूहको जागरुक स्वयंसेवकका रूपमा काम गरे ।
सन् १९३० पछिका वर्षहरूमा भारतीय समाजवादी समूहले भारतभरि आफ्नो बेग्लै प्रभाव स्थापित गरिसकेको थियो । उसको बेग्लै कार्यप्रति, बेग्लै योजनालाई सम्पूर्ण भारतबासीले ठुलो दिलचस्पीका साथ हेरिरहेका थिए । सन्् १९३४ देखि समाजवादीहरूले भारतीय राष्ट्रिय कंग्रेससित कतिपय विषयहरूमा आफ्नो फरक अस्तित्व कायम राखेर काम गर्न थाले ।
त्यसबेलासम्म भारतीय समाजवादी समूहको नेतृत्व तहमा रहेर बिपी कोइरालाले त्यो समूहको प्रचार तथा किसान, मजदुर र युवा विद्यार्थी संगठनको मूलभूत जिम्मेवारी लिएर अनेक महत्वपूर्ण कार्य गर्नुभएको थियो । त्यसकारण उहाँ धेरैपटक भारतका विभिन्न जेलमा रहनुपरेको थियो ।
भारतीय राष्ट्रिय कंग्रेसको बम्बैमा सम्पन्न सम्मेलनले सन् १९४२ को अगस्ट ९ का दिन ‘भारत छोडो’ प्रस्ताव स्वीकृत गर्यो । त्यसपछि तुरुन्तै आमगिरफ्तारी सुरु भयो । सिंगो भारत आन्दोलित भएर उठ्यो ।
यो आन्दोलनलाई अघि बढाउन समाजवादी समूहको उल्लेखनीय योगदान रह्यो । भूमिगत रहेर बिपी कोइरालाले आन्दोलनलाई युपी र बिहारका अनेक भागमा नेतृत्व प्रदान गर्नुभयो ।
अन्ततः १९४२ को नोभेम्बर २९ का दिन बिपीलाई पनि केही साथीहरूसँगै पटनामा पक्राउ गरियो । उहाँलाई केही महिना बान्कीपुर जेलमा राखेर हजारीबाग जेलमा सारियो । त्यो जेलमा डा. राजेन्द्रप्रसादसँगै अन्य नेताहरू पनि थिए । बिपीको समग्र परिस्थितिको उचित विश्लेषण गर्ने क्षमता, परिपक्व धारणा र त्यसप्रतिको प्रतिबद्धता प्रवृत्ति हरेक कुराले भारतीय नेताहरूमा बिपीप्रति एक बेग्लै आदर र सम्मान थियो ।
आफ्नो छिमेकी मुलुक नेपालका एक नेताले यसरी आफ्नो स्वतन्त्रताको संघर्षमा सक्रियतापूर्वक भाग लिएकोमा, त्यसलाई उनीहरू गर्वको रूपमा हेर्थे र उपलव्धिको रूपमा लिन्थे ।
बिपी पक्राउ परेपछि उहाँलाई नेपालमा सुपुर्दगी गर्न राणाहरूले पत्र लेखे । भारत पनि सुपुर्दगी गर्न तयार भयो । बिपीलाई भारतको स्वतन्त्रताको संघर्षमा सम्बद्ध भएका कारण पक्राउ गरिएको थियो । तर, सुपुर्दगी गर्न मिल्दैन भन्ने संघीय अदालतको आदेशले उहाँको सुपुर्दगी रोकियो ।
सन् १९४४ को उत्तराद्र्धदेखि विभिन्न जेलबाट रिहाइको क्रम सुरु भयो । १९४५ को जनवरी १७ का दिन अन्य धेरैसँगै बिपीलाई पनि रिहा गरियो । जेलबाट निस्कँदा बिपीले एउटा टेलिग्राम पाउनुभयो । त्यो उहाँका भाइ केशव कोइरालाले काठमाडौँबाट पठाएको पिताजीको निधनको टेलिग्राम थियो ।
जेलबाट रिहा हुनुभन्दा केही पहिलेदेखि नै बिपी अस्वस्थ हुनुहुन्थ्यो । लामो समयसम्म बम्बैको टाटा क्यान्सर अनुसन्धान अस्पतालमा उपचार गराएर १९४६ को सेप्टेम्बरमा बिपी पटना फर्कनु भयो ।
भारत स्वतन्त्रता प्राप्त गर्ने स्थितिको नजिकै आइसकेको थियो । नेपालमा प्रजातन्त्र स्थापनाको संघर्षलाई अघि बढाउन अब विलम्ब गर्नुहुन्न भन्ने मनस्थितिमा बिपी पुग्नुभयो ।
उहाँले सबै चेतनशील नेपालीलाई एकतन्त्रीय राणा शासनको विरोधमा संगठित हुन आह्वान गर्नुभयो । उहाँको यो आह्वान सन् १९४६ को अक्टोबर ४ का दिन पटनाबाट प्रकाशित हुने ‘सर्चलाइट दैनिक’ र अन्य केही पत्रिकामा छापिएको थियो ।
त्यसबेलासम्म भारतको स्तन्त्रता संघर्षमा लाग्ने सबै नेपाली रिहा भसकेका थिए । उनीहरू भारतको बनारस तथा अन्य स्थानमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई एवं देशभित्रैको राणाविरोधी समूह यी सबैलाई बिपीको यो आह्वानले नयाँ उत्साह र प्रेरणा दियो ।
अन्ततोगत्वा २००३ सालको माघ १२ र १३ गते कलकत्तामा आयोजना गरिएको अधिवेशनले विधिवत ‘नेपाली राष्ट्रिय कांग्रेस’को गठन गर्यो । नेपालको पहिलो आन्दोलन ‘विराटनगरको मजदुर आन्दोलन’को नेतृत्व यही पार्टीले गर्यो । देशव्यापी सत्याग्रह गर्यो र राणा शासनको विरोधका गतिविधिहरूलाई देशभित्र प्रवेश गरायो ।
२००५ मा नेपाल प्रजातन्त्र कांग्रेसको पनि गठन भयो । यसको र नेपाली राष्ट्रिय कांग्रेसको मूलभूत उद्देश्य एउटै थियो– एकतन्त्रीय राणा शासनको अन्त्य । तर, कार्यपद्धति फरक थियो । नेपाली राष्ट्रिय कांग्रेसका सबै गतिविधि अहिंसात्मक पद्धतिमा आधारित थिए ।
कुनै नियम–कानुनको पालना नहुने, राणा प्रधानमन्त्री वा श्री ३ महाराजको हुकुम नै सर्वोपरि हुने कठोर अधिनायकवादी शासनको मातहत रहेको नेपालमा अहिंसात्मक नीतिमा आधारित विरोध सर्वथा निरर्थक हुन्छ । सशस्त्र संघर्षबाट मात्र यसलाई परास्त गर्न सम्भव हुन्छ भन्ने धारणा नेपाल प्रजातन्त्र कांग्रेसको थियो ।
नेपाली राष्ट्रिय कांग्रेसले अहिंसात्मक नीतिलाई पूर्णतः पालन गरेर सञ्चालन गरेको आन्दोलनमाथि भएको बर्बर दमन, २००५ सालको मंसिरमा काठमाडौँमा पक्राउ गरेर बिपीमाथि गरिएको अमाननीय व्यवहार आदिले बिपी पनि अहिंसात्मक नीतिलाई परिवर्तन गर्नुपर्छ भन्ने सोचाइमा पुगिसक्नुभएको थियो ।
यही सामञ्जस्यमा नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसका नेताहरूबीचमा लामो छलफल भयो । अन्ततः २००६ को चैतमा यी दुवै पार्टीको एकीकरणबाट ‘नेपाली कांग्रेस’ को गठन भयो ।
२००७ को कात्तिक २१ गते राजा त्रिभुवन र राजपरिवारका सबै सदस्य भारतीय दूतावासमा शरण लिन पुगे । कात्तिक २६ गते दिल्लीबाट आएका दुइटा विशेष विमानद्वारा राजा र उनका सबै परिवार दिल्ली गए ।
नेपाल प्रजातन्त्र कांग्रेसले आफ्नो स्थापनासँगै नेपाली सेनालाई गोप्य तवरले आफ्नो पक्षमा ल्याउने, भूतपूर्व सैनिकहरूसँग सम्पर्क राख्ने आदि केही कार्यहरू गरिसकेको थियो । नेपाली कांग्रेसले यो कार्यलाई अझ अघि बढायो ।
बिपी कोइराला र सुवर्ण शम्शेर सशस्त्र क्रान्तिको तयारीमा लाग्नुभयो । व्यवस्थित रूपले जनमुक्ति सेनाको निर्माण भयो र हतियार संकलनको कार्यले मूर्त रूप लियो ।
नेपालकै कुनै एक भूभागलाई मुक्त क्षेत्र घोषणा गरेर त्यही स्थानबाट क्रान्ति सञ्चालन गर्ने योजना बिपीको थियो । त्यसका लागि पाल्पालाई उपयुक्त ठाउँको रूपमा हेरिएको थियो । राजा त्रिभुवनलाई पाल्पा लगेर राख्ने योजना बनाइयो । तर, त्रिभुवन दरबारबाट निस्केर त्यहाँ जाने स्थिति भएन र यो योजना कार्यान्यनमा आएन ।
२००७ को असोज १० र ११ मा भारतको सीमावर्ती स्थान बैरगनियामा नेपाली कांग्रेसले सम्मेलनको आयोजना गर्यो । यही सम्मेलनले अविलम्ब सशस्त्र क्रान्ति गर्ने र त्यही क्रान्तिले राणा शासन समाप्त पार्ने प्रस्ताव पारित गर्यो ।
सम्मेलनले क्रान्तिको सम्पूर्ण व्यवस्थाको जिम्मा बिपी कोइराला र सुवर्ण शम्शेरलाई दियो । यसको केही दिनपछि पटनामा बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले विभिन्न क्षेत्रका आन्दोलनको नेतृत्वकर्ता पनि चयन गर्यो ।
२००७ को कात्तिक २१ गते राजा त्रिभुवन र राजपरिवारका सबै सदस्य भारतीय दूतावासमा शरण लिन पुगे । कात्तिक २६ गते दिल्लीबाट आएका दुइटा विशेष विमानद्वारा राजा र उनका सबै परिवार दिल्ली गए ।
त्यसबेलासम्म नेपाली कांग्रेसले बर्माबाट ल्याएका हतियारहरू देशका विभिन्न भागमा पुर्याइसकेको थियो । जनमुक्ति सेना परिचालन भइसकेका थिए । कतिपय ठाउँमा जनक्रान्ति सुरु हुनै लागेको थियो । ठिक त्यही बेला राजा त्रिभुवनको दरबार परित्यागले क्रान्तिलाई सहयोग पुगेको थियो । तर, क्रान्ति आफ्नै बलबुतामा होस् त्यसमा अरू कसैको दख्खल नहोस् भन्ने नेपाली कांग्रेस चाहन्थ्यो ।
२००७ को कात्तिक २५ र २६ बीचको मध्यरातमा जनमुक्ति सेनाले वीरगन्ज कब्जा गरेर जनक्रान्तिको प्रारम्भ गर्यो । पहाड, मधेस सबैतिर विजय हासिल गर्दै क्रान्ति अघि बढ्यो । नेपाली कांग्रेसले आफ्नो नियन्त्रण कायम गरेका प्रत्येक जिल्लामा जनसरकार गठन गर्यो र ती स्थानमा विभिन्न रचनात्मक कार्य पनि सञ्चालन गर्यो ।
सबैतिर नेपाली कांग्रेसका जिम्मेवार नेताहरूको नेतृत्वमा जनक्रान्ति भएको थियो । त्यसैले कतै पनि मुठभेडमा बाहेक कसैले पनि ज्यान गुमाउनुपरेन । कतै पनि लुटपाट र जबरजस्तीका घटना भएनन् ।
क्रान्ति बिथोल्न नियोजित रूपले आएका केही तत्वले केही ठाउँमा केही अवान्छित र धोकापूर्ण कार्यहरू गर्न खोजे पनि नेपाली कांग्रेस र जनमुक्ति सेनाको प्रयत्नले त्यस्ता सबै क्रियाकलापहरू निष्प्रभाव हुन पुगे ।
तालिम प्राप्त चौबिस पल्टनको सशस्त्र सेनाको सशक्त सुरक्षा व्यवस्थामा १०४ वर्षदेखि अनवरत शासन गरेर रहेको एकतन्त्रीय राणा शासन २००७ को माघ महिनाको पहिलो हप्तासम्म आइपुग्दा फगत राजधानी उपत्यकामा मात्र सीमित हुन आइपुगेको थियो । यद्यपि राजधानी उपत्यकामा सशस्त्र क्रान्ति भएको थिएन ।
तर, विरोधका सशक्त कार्यक्रम यहाँ पनि भइरहेका थिए । हरेक दिन जेल जानेको संख्या बढिरहेको थियो । अनेकौँ घाइते भइरहेका थिए । केहीले सहादत प्राप्त गरिसकेका थिए ।
पूर्वी पहाडबाट अघि बढेको जनमुक्ति सेनाको एउटा ठुलो दस्ताले चरीकोट आफ्नो कब्जामा लिएर बसेको थियो र त्यहाँबाट राजधानीतिर बढ्ने योजनामा थियो । त्यसबेलासम्म जनमुक्ति सेनाले आफ्नो नियन्त्रणमा लिन बाँकी जिल्लामा पश्चिम १ नम्बर र पूर्व १ नम्बर मात्र थिए । त्यसैकारण मोहन शम्शेरले भारतले केही समयअघि पठाएको सहमतिका बुँदाहरूलाई २००७ साल पुस २४ गते स्वीकार गरे । भोलिपल्ट २५ गते त्यसलाई राजा त्रिभुवनले पनि समर्थन गरे ।
राजा त्रिभुवन भारतको विशिष्ट अतिथि भएर दिल्लीको हैदरबाद हाउसमा बसेका थिए । उनीसित नेपाली कांग्रेसको कसैलाई पनि भेट्न दिइएको थिएन । क्रान्ति कहाँ–कहाँ, कसरी सञ्चालन भइरहेको छ, त्यसको उचित जानकारी उनलाई थिएन । तर अप्रत्यासित रूपको उनको समर्थनले नेपाली कांग्रेसलाई असमञ्जसमा पारेको थियो । तर देशका अधिकांश भागमा जनमुक्ति सेनाको आधिपत्य कायम थियो । उनीहरूमा राणा शासनलाई परास्त गर्दै गरेको मनोबल थियो ।
माघ ३ गते क्रान्तिका कमान्डर मातृकाप्रसाद कोइरालाले हतियार बन्द गर्ने आदेश दिनुभयो । राजबन्दीहरूको रिहाइ र अरू प्रजातान्त्रिक प्रक्रिया स्थापित हुँदै गए । २००७ को फागुन ४ गते राजा त्रिभुवन र नेपाली कांगे्रसका नेताहरू काठमाडौँ आए । फागुन ७ गते राजा त्रिभुवनबाट देशमा प्रजातन्त्र स्थापना भएको र राणा–कांग्रेस संयुक्त सरकार गठनको घोषणा भयो । देश नयाँ प्रजातान्त्रिक युगमा प्रवेश गर्यो ।
केही दिनपछि नै ‘नेपालको अन्तरिम शासन विधान’को घोषणा भयो । त्यसले नेपाली जनतालाई प्रजातान्त्रिक अधिकारको उपभोग गर्ने अवसर प्रदान गर्यो । तर त्यससँगै व्यवधानहरू खडा गरिए ।
(वरिष्ठ पत्रकार बस्नेत बिपी कोइरालासँग निकट रहेर काम गरेका कांग्रेस नेता पनि हुन् ।)