Nic Ad Nic Ad
Nic Ad Nic Ad

निर्वाचन पद, पैसा र पहुँचबाट नभइ निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित हुनुपर्छ : प्रमुख निर्वाचन आयुक्त

आइतबार, फागुन ७, २०७९

काठमाडौं– निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन पद, पैसा र पहुँचबाट नभइ निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित हुनुपर्ने बताएका छन् । उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादि र स्वतन्त्र बनाउन भूमिका निर्वाह गर्ने राजनीतिक दल, उम्मेदवार, निर्वाचन व्यवस्थापनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मी, पर्यवेक्षक, सञ्चारक्षेत्र र अन्तर्राष्ट्रिय समुदायलगायतलाई धन्यबादसमेत दिएका छन् 

सातौ निर्वाचन दिवसका अवसरमा आफ्नो शुभकामना सन्देशमार्फत उनले यस्तो बताएका हुन् ।

‘निर्वाचनमा सबै सधैँ सँगै’ भन्ने सातौँ निर्वाचन दिवसको नारालाई सार्थक बनाउन सबैको निरन्तर सहयोग, साझेदारी, सहकार्य र समन्वय अझ मजबुत हुनेछ भन्ने विश्वास लिएको उनले बताए । 

उनले तोकिएको मितिमा शान्तिपूर्णरूपमा निर्वाचन सम्पन्न गराएर आयोगले आफ्नो संवैधानिक दायित्व कुशलतापूर्वक निर्वाह गरेको बताए । 

आगामी फागुन २५ गते र चैत ३ गते हुने राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएसँगै नेपालको संविधान जारी भएपछिको दोस्रो कार्यकालका लागि सबै आवधिक निर्वाचनहरू पूरा हुने उनको भनाइ थियो । 

यस वर्षका निर्वाचनको सञ्चालन र व्यवस्थापनका क्रममा आयोगले संविधान र कानूनको पालनासहित अवलम्बन गरेका नवीन अभ्यासहरूको समीक्षाका क्रममा केही सकारात्मक पहल गर्न सकिएको अनुभव भएको उनले जनाए । उनले देखिएका समस्या र चुनौतीलाई समाधान गर्न मार्गदर्शन पनि प्राप्त भएको बताए । आयोगले ती सबै सुझावलाई समेटेर आगामी निर्वाचनको तयारी गर्नेछ भने निर्वाचन कानुन र व्यवस्थापनका क्रममा सुधार गर्नुपर्ने पक्षहरूमा पनि दृढतापूर्वक अग्रसर हुने उनको भना छ । 

निर्वाचन व्यवस्थापनलाई उपयुक्त नीतिगत, कानुनी र संस्थागत संरचनासहित समयानुकुल बनाउन एकीकृत निर्वाचन कानूनको मस्यौदा तयार गरी पेस गर्न लागिएको उनले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  ११:५५
प्रतिक्रिया दिनुहोस्