Nic Ad Nic Ad
Nic Ad Nic Ad

बागलुङमा ग्रामीण सडकको २ पुल तयार

आइतबार, फागुन ७, २०७९

बागलुङ –केही वर्ष अगाडिसम्म काठेखोला गाउँपालिका–३ धम्जा र, वडा नम्बर ७ रेशमा बाह्रै महिना गाडी संचालन हुँदैन्थे ।

अब गाउँहरूमा हिउँद बर्खा चल्नेछ । गाउँपालिकाको २ स्थानमा मोटरेवल पुल निर्माण भएपछि स्थानीयसमेत हर्षित भएका छन् । गण्डकी प्रदेश सरकारको योजना अन्तर्गत बागलुङको काठेखोला गाँउपालिकामा एकसाथ २ मोटरेवल पुल निर्माण गरिएको हो । 

गाउँपालिकाको वडा –६ बिँहु र भिमापोखरा जोड्ने गरी लामाबगरमा र वडा –७ रेशमा रहेको एक्लेखेत स्थित रेशखोलामा मोटरेवल पुल निर्माण भएको छ । पक्की पुल निर्माण भएपछि रेश र धम्जामा अब बाह्रैमास यातायातका साधन चल्ने भएका छन् ।

काठेखोला गाउँपालिकाको रेशमा बर्खा लागेपछी सवारीसाधन खोलापार गर्न नसक्ने समस्या रेश खोलामा पुल निर्माण भएपछि हटेको काठेखोला गाउँपालिका–७ रेशका वडा अध्यक्ष प्रेम लामिछानेले जानकारी दिए । 

‘रेशमा वर्खामा खोला बढ्दा सवारीसाधन पार हुन सकेका थिएनन्, केही वर्ष अघि खोलामा हिमपाइप राखिए पनि खोलाले बगाएपछि समस्या थियो, केही सवारीसाधनहरू बर्खामा सिगानाको सडक हुँदै घुमेर बजार आउने जाने गरेका थिए’, वडा अध्यक्ष लामिछानेले भने, ‘काठेखोलामा २ पुल एकैसाथ निर्माण हुँदा बर्खामा सवारीसाधन आउजाउ गर्न सहज भएको छ ।’

रेश खोलाको पुल निर्माणका लागि गण्डकी प्रदेश सरकारले ५ करोड २७ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । गण्डकी प्रदेश भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय पोखरा र पूर्वाधार विकास कार्यालय बागलुङको साझेदारीमा २५ मिटर लामो मोटरेवल पुल रेश खोलामाथि निर्माण भएको हो ।

यस्तै लामाबगरमा ३० मिटर लामो पक्की पुल निर्माण भएको छ ।  ३ करोड ३१ लाख रुपैयाँमा उक्त पुलको निर्माणको जिम्मा समेत निलगिरी नेशनल जेभीले लिएको थियो । 

लामाबगर पुल र रेश खोलाको पुल दुबै हस्तान्तरणको चरणमा पुगेको काठेखोला गाउँपालिकाका प्रवक्ता टिका संगम विकले जानकारी दिए । ‘सवारीसाधन पुलबाटै गुड्न थालेका छन्, हस्तान्तरण र उद्घाटन भएको छैन, केही रङ्गरोगनको काम सकेर हस्तान्तरणका गर्ने निर्माण व्यवसायीको भनाइ छ’, विकले भने । 

कोरोना महामारी, बर्खाका कारण निर्माणको काममा केही अवरोधकाबीच पुल सम्पन्न भएको निर्माण कम्पनीका प्रतिनिधि सुनिल सिंह खत्रीले बताए । रेश र बिँहु जोड्ने पुलले दुवै वडा मात्र नभएर गाँउपालिकाको सबै जनतालाई यात्रामा सहज प्रदान गर्ने काठेखोला गाउँपालिकाले जनाएको छ । पुलसँगै अब सडक पनि स्तरोन्नती गर्न स्थानीयले माग गरेका छन् ।

प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  १२:१३
प्रतिक्रिया दिनुहोस्