Nic Ad Nic Ad
Nic Ad Nic Ad
सात साल

२००८ सालमा मात्रै दार्चुलाले पायो प्रजातन्त्रको ‘खबर’

आइतबार, फागुन ७, २०७९

२००७ साल फागुन ७ गते सम्पन्न जनक्रान्तिले शताब्दी लामो निरङ्कुश पारिवारिक सामन्ती शासनको अन्त्य गरी देशलाई पुँजीवादी प्रजातान्त्रिक युगमा प्रवेश गराएको थियो ।

यसको प्रभाव सिंगो नेपाली समाजमा पर्दा हालको दार्चुला जिल्लाको सामाजिक परिवेशमा पनि पर्नु स्वाभाविकै थियो, पर्‍यो । दार्चुलालाई त्यस बेलासम्म जिल्लाको मान्यता प्राप्त थिएन । यो डोटी जिल्लाको बैतडी गौँडाअन्तर्गत अमिनी इलाकाको रूपमा थियो ।

जिम्मुवाल, मुखिया, तालुकदारहरूलाई तिरोभरो बुझाउने र मुद्दा मामलाबाहेक राणा शासनले यस क्षेत्रमा न शिक्षादीक्षाको क्षेत्रमा काम गरेको थियो न त अन्य क्षेत्रमा ।

त्यस क्षेत्रका मानिसका लागि ‘नेपाल’ भनेको काठमाडौँ थियो । कुनै मानिस काठमाडौँ गएको छ भने नेपाल गएको छ भनिन्थ्यो र नेपाल पुगेर आएका मान्छेको पहिचान नै ‘नैपल्या’ भनी गरिन्थ्यो ।

‘नैपाल’ आउनुको अर्थ मुद्दा मामलाबाहेक न त जागिरी हुन्थ्यो न बन्दबेपार । यहाँसम्म कि पशुपति दर्शनको पनि आमचलन थिएन ।

यस क्षेत्रमा न नेपाली भाषा बोलिन्थ्यो न नेपाली पैसाको चलन नै थियो । कसैले केही लेख्न, पढ्न चाहे पनि हिन्दीको प्रयोग हुन्थ्यो ।

सारांशमा भन्नुपर्दा २००७ सालको क्रान्ति हुँदासम्म दार्चुला जिल्ला राजनीतिक रूपमा होस् अथवा आर्थिक, सामाजिक र धार्मिक रूपमा होस् सरकारका लागि अस्तित्वविहीन जस्तै थियो । यहाँका जनता नेपाललाई भन्दा भारतलाई बढी चिन्थे र भारतमाथि निर्भर थिए ।

भारतीय स्वतन्त्रता संग्राम, भारतीय कांग्रेस पार्टी, महात्मा गान्धी, पण्डित नेहरू, जसलाई यहाँका सर्वसाधारण ‘पण्डितजी’ भन्थे, राजनेता थिए । भारतीय झन्डा, भारतीय राष्ट्रगानसँग परिचित मात्र होइन, आत्मीयता पनि थियो ।

हुन त आज ७२ वर्षपछि पनि विभित्र क्षेत्रमा अवस्था झन्डैझन्डै उस्तै छ । तर, धनगढीसँग दार्चुला जोडिए पछि र कर्णालीपारिको क्षेत्र नेपालसँग जोडिएपछि आवागमनका लागि भारतमाथिको निर्भरताको अवस्था फेरिएको छ । राजनीतिक रूपमा पनि सघन रूपले जोडिएको छ ।

तर, विकास र शिक्षा, स्वास्थ्यको क्षेत्रमा यस क्षेत्रप्रति दोस्रो दर्जाको व्यवहार यथावत् छ । यद्यपि, अहिले सामाजिक, राजनीतिक चेतना र राष्ट्रिय जागरणमा भने केही हदसम्म विकास भएको छ । 

जहाँसम्म ७ सालको क्रान्तिको तयारी तथा परिवर्तनका लागि राणा विरोधी संघर्षमा सहभागितको प्रश्न छ, आदरणीय सहिद दशरथ चन्दको सहादत, भीमदत्तको आन्दोलन, भारतमा अध्ययनरत विद्यार्थीहरूको संलग्नता, केआइए सिंहलगायत सुभासचन्द्रको आजाद हिन्द सेनामा संलग्न सेनानीहरूको उपस्थिति, भारतीय स्वतन्त्रता आन्दोलनको प्रभाव आदिले गर्दा यस क्षेत्रका सचेत नागरिक नेपाली कांग्रेसको नेतृत्वमा चलिरहेको राणा विरोधी आन्दोलनबारे अवगत थिए । र, आफ्नो किसिमको सहभागिता पनि रह्यो ।

साँच्चै भत्रे हो भने दार्चुलामा ७ सालको क्रान्ति सम्पत्र भएको अनुभव २००८ सालमा मात्रै भयो, त्यो पनि क्रान्ति सम्पत्र भएको सन्देश फैलाउन त्यस क्षेत्रका दुर्गम पहाडी जिल्लाहरूमा दौडाहा पठाएपछि ।

पश्चिम मोर्चाको धनगढी क्षेत्रमा सशस्त्र विद्रोहमा धनगढीसँगै डोटी कब्जा गर्न त्यस क्षेत्रका जनताको उल्लेख्य सहभागिता थियो । राणा विरोधी आन्दोलनमा कर्णालीपारिका क्षेत्रको अहम् भूमिका थियो ।

भीमदत्तको सामन्त विरोधी आन्दोलनदेखि नै सक्रिय रहेका थारू जमातका अगुवाहरूको उल्लेख्य भूमिका थियो । त्यतिबेलाको इतिवृत्ति यो सानो संस्मरणमा सम्भव छैन । समय र स्वास्थ्यले साथ दिए कुनै बेला साझा गर्ने प्रयास गर्नेछु । 

यस आलेखमा मैले विशेष गरी ७ सालको क्रान्ति र दार्चुलाको सम्बन्धबारे केही सम्झना गर्ने प्रयास गरेको छु ।

७ सालको क्रान्ति हुँदा म १२ वर्षको थिएँ । तैपनि आफ्नो परिवारिक परिवेश तथा अक्षर ज्ञान हासिल गर्ने दौरान भारतका घटनाक्रमहरूबारे पाएको जानकारी आदिले म ‘अबोध बालक’ नै चाहिँ थिइनँ ।

नेपालमा प्रजातान्त्रिक आन्दोलन भइरहेको र फागुन ७ गते सम्पत्र भएकोबारे सुनेको भरमा अलिअलि थाहा थियो । हालको दार्चुला जिल्ला जस्तो सानो तथा दुर्गम पिछडिएको ग्रामीण क्षेत्र, जहाँ न कुनै सहर वा बजार थिए न कुनै शैक्षिक संस्था नै, त्यस्तो ठाउँमा कुनै राणा विरोधी आन्दोलन, जुलुस आदि हुन सक्ने सम्भावना नै थिएन र त्यस्ता आन्दोलन भएका पनि थिएनन् ।

न त्यसबेला नेपालमा कुनै त्यस्तो सञ्चारमाध्यम नै थियो, जसले क्रान्तिप्रति आमजनतालाई सचेत र संगठित गर्न मद्दत गरोस् ।

साँच्चै भत्रे हो भने दार्चुलामा ७ सालको क्रान्ति सम्पत्र भएको अनुभव २००८ सालमा मात्रै भयो, त्यो पनि क्रान्ति सम्पत्र भएको सन्देश फैलाउन त्यस क्षेत्रका दुर्गम पहाडी जिल्लाहरूमा दौडाहा पठाएपछि ।

यद्यपि, जहानियाँ राणा शासनविरुद्धको सशस्त्र क्रान्ति दिल्ली सम्झौताबाट समाप्त गरिएको थियो । जसले श्री ३ को एकलौटी सत्ता समाप्त गरी श्री ५ को सत्ता कायम गरिएको थियो ।

त्यसपछि क्रान्तिको सन्देश तथा उद्देश्य आमजनसम्म पुर्‍याउन तथा जिल्लाजिल्लामा सामन्तहरूको बिगबिगी समाप्त गर्न देशका विभित्र क्षेत्रमा टोली पठाउने काम गरिएको थियो ।

यद्यपि, दिल्ली सम्झौतापछि पनि केआई सिंहको आन्दोलन जारी नै थियो । तर, त्यो न लामो समय टिक्यो न विकासको मूलधार नै बत्र सक्यो । त्यसको कथाब्यथा भिन्नै पाटो हो । यहाँ क्रान्तिको सन्देश र उद्देश्यबारे सन्देश दिन गरिएका कामको सिलसिलामा गरिएका कामको विषय मात्रै हो ।

यसै सिलसिलामा हालको सुदूरपश्चिमका दार्चुला, बैतडी, बझाङ आदि जिल्लामा २ जना दौडाहा पठाइएको थियो । एउटा गौरीलालको नेतृत्वमा र अर्को रूपसिंह सिजापतिको नेतृत्वमा ।

रूपसिंह सिजापति र गौरीलाल सशस्त्र क्रान्तिको पश्चिम कमान्डअन्तर्गतको धनगढी–डोटी मोर्चामा लडेका र डोटी कब्जा गर्ने अभियानमा संलग्न व्यक्ति थिए ।

गौरीलाल सदाय वीरगन्जका बासिन्दा थिए भने रूपसिंह सिजापती नेपालगन्जका । धेरै पछि २०२९–३० सालतिर नेपालगन्जमा उनी (रूपसिंह) सँग मेरो पुनः भेट भएको थियो । त्यसबेला उनी सानो पानको खोपो राखेर आफ्नो जीविकोपार्जन गर्दै थिए । 

त्यसबेला बझाङ, बैतडी आदि क्षेत्र डोटी जिल्लाअन्तर्गत पर्थे र त्यहाँ (अहिले नाम सम्झना भएन) राणा शासक थिए । त्यहाँ कुनै ठुलो प्रतिरोध भएन र सजिलै विजय हासिल गरियो ।

हालको सुदूरपश्चिम क्षेत्र ठुलाबडा, मझौला, साना सामन्ती शासकहरूको जकडमा थियो । त्यसबाट मुक्त गराउन यी दौडाहाहरू खटाइएका थिए । त्यसक्रममा गौरीलाल बझाङ क्षेत्रतिर लागे भने सिजापति बैतडी दार्चुलातिर ।

गौरीलालको मिसनमा अनेकौँ बोटे सामन्त र ठालुहरूको पाता कसियो र दण्डित गरियो । त्यसमध्ये सबैभन्दा बीभत्स तरिकाले बझाङी राजा धीर्क सिंह मारिए । भनिन्छ ( कति सत्य हो थाहा छैन)– उनको मासु उनैले पालेका कुकुरलाई खुवाइएको थियो रे !

त्यसै क्रममा रूपसिंहले बैतडी दार्चुला क्षेत्रका चन्द, ठकुरीलगायत अन्य सामन्ती ठालुहरूलाई दण्डित गरेर जनतालाई राहत दिने काम गरे । यस मिसनमा कति तथ्यपरक रूपमा सामन्ती ठालु र शोषकहरूलाई दण्डित गरियो भने कतिपय रिसइबीका भरमा निराधार र झुटा उजुरीका भरमा गरियो ।

दार्चुलामा यस्तै आधारविहीन रिसइबीको भरमा गरिएका कतिपय दमनका अन्य घटनाबाहेक मेरै घरमा गरिएको अन्यायको झल्झली सम्झना आउँछ ।

हाम्रो खलक ज्योतिष खलक हो र त्यही हाम्रो पेसा पनि थियो । तर, पढेलेखेको परिवार हुँदा सबैले इज्जत गर्थे । मेरा काका पर्ने १–२ जनाले आफ्नो पेसा छाडी गाउँमा सानोतिनो व्यापार गर्थे ।

गाउँमै एउटा भारतीय नागरिक पनि व्यापार गर्थे । व्यापारीहरूको बीचमा इष्र्या थियो । उस (भारतीय व्यापारी)ले आफूलाई लुटपाट गरी दुःख दिएको उजुरी गर्‍यो र काकालाई बिनासोधपुछ थुनियो, क्याम्पमा लगियो ।

बालसुलभ जिज्ञासा, थुनेपछि लुक्दै डराउँदै क्याम्पमाथिको आलीमा लुकेर हेर्ने थालेँ । काकालाई निर्मम रूपले कोर्रा लगाउँदै थिए । काका कराउँदै हुनुहुन्थ्यो ।

काका मिजासिला र सबैसँग दोस्ती गर्ने मिजासिला निर्दोष व्यक्ति हुनुहुन्थ्यो । कोर्रा हानिरहेको देखेर बाल मस्तिष्कमा खुबै रिस उठ्यो र लुकेरै ढुंगा हानेँ ।

ढुंगा त्यहाँ पुग्ने र कसैलाई चोटपटक लाग्ने त कुरै थिएन । तर, देखिहाले । लखेट्न आए । म भागेँ । काकालाई सय कोर्रा हानियो र छाडियो । त्यसपछि उहाँको मानसिक सन्तुलन कहिल्यै ठिक भएन ।

यी र यस्तै छन् बाल्यकालका ती सम्झना । त्यहाँ स्थानीय तहमा कुनै आन्दोलन वा विद्रोह भएको थिएन । तर, आमरूपमा सजग जनता परिचित थिए र क्रान्तिको समर्थनमा उभिएका थिए ।
 

प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  १३:५६
प्रतिक्रिया दिनुहोस्