‘प्रजातन्त्र आयो भनेर दाजुले भरुवा बन्दुक भिरेर हिँडेको याद छ’
यतिबेला प्रजातन्त्रले ७३ वर्षको उत्सव मनाइरहेको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ८० वर्ष पार गरे । प्रजातन्त्रभन्दा जेठा केसीको राजनीतिक जीवन प्रजातन्त्र सँगसँगै यात्रारत छ ।
नेपाली कम्युनिस्ट आन्दोलनबाट उदाएका केसी प्रजातन्त्रलाई तत्कालीन राणा कांग्रेस र राजाको सम्झौताका रूपमा लिएको बताउँछन् ।
१७ वर्षको उमेर हुँदा काठमाडौँ आएका केसी तत्कालीन नेपाल कम्युनिस्ट पार्टीसँग आबद्ध भए । प्रजातन्त्र, पञ्चायत, राजतन्त्रसहितको प्रजातन्त्र र गणतान्त्रिक व्यवस्थाका ज्युँदा इतिहास हुन्– उनी ।
तत्कालीन चौबिसे राज्यअन्तर्गतको गलकोट राज्यभित्र जन्म लिएका केसी प्रजातन्त्रका बारेमा काठमाडौँ आएर पढ्न थालेपछि नै थाहा पाएको सुनाउँछन् ।
केसीका बुबा गलकोटे राजाका भान्से थिए । हालको गलकोट नगरपालिकाभित्र पर्ने हरिचौर तत्कालीन गलकोट राज्यको सदरमुकाम थियो । केसीको घरबाट हिँडेर २ घन्टामा पुगिने हरिचौरमै केसीले अक्षर चिने ।
गलकोट राज्य रहेन । केसी बुबासँग काठमाडौँ आए । पढाइदिने शर्तमा बुबाले उनलाई काठमाडौँ दरबारमै छाडे । तर, उनी पढ्न पाएनन् । दरबारसँग रिसाउँदै बाहिर आए र दरबारसँगै लड्न थाले ।
राणाविरुद्धको असन्तुष्टि चरम उत्कर्षमा पुग्दा जन्म लिएका केसी हुर्किंदै थिए । बाल्यकालमा धेरै कुरा थाहा नभए पनि राणाहरू गएको र प्रजातन्त्र स्थापना भएको दिनको केही सम्झना केसीसँग बाँकी छ ।
देशभर हर्षबढाइँ भइरहेको थियो । केसीका दाजुले भरुवा बन्दुक लिएर सदरमुकाम गएको केसीलाई सम्झना छ ।
राजनीतिक रूपमा २००७ साललाई केसीले प्रजातन्त्र आएको रूपमा मान्दैनन् । उनी अहिले पनि प्रजातन्त्र जनताका लागि नआएको तर्क गर्छन् । तर, २००७ सालमा तत्कालीन राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिलाई सहज गराउनका लागि भएको एक सम्झौताको रूपमा उनले लिने गरेका छन् ।
२००७ साललाई एउटा राजनीतिक घटनाक्रमका रूपमा मात्र लिने गरेको केसी बताउँछन् । उनी त्यसपछि पनि देशमा राजनीतिक स्थिरता आउन नसकेको, स्वयं त्यो ७ सालको राजनीतिक घटनामाथि पनि अनेक षड्यन्त्र भएको र प्रजातन्त्रका नाममा दरबारबाट नै दुरुपयोग भएको केसीको सम्झना छ ।
अहिले पनि दरबारले जुल्काइरहेको छ
-चित्रबहादुर केसी
म केटाकेटी नै थिएँ । मेरा दाजुले राणाहरूको अन्त्य भयो, देशमा प्रजातन्त्र आयो भनेर भरुवा बन्दुक बोकेर हिँडेको सम्झना छ ।
तत्कालीन गलकोट राज्यमा मेरो जन्म भएको हो । बुबा गलकोटे राजाका भान्से हुनुहुन्थ्यो । मेरो घरबाट हिँडेर २ घन्टा लाग्थ्यो सदरमुकाम जान । तत्कालीन गलकोट राज्यको सदरमुकाम भएको ठाउँलाई हरिचौर भनिन्छ । अहिले गलकोट नगरपालिकाभित्र पर्छ । वडा नम्बर कति हो, थाहा छैन ।
मैले अक्षर चिनेको पनि त्यही ठाउँमा हो । पछि काठमाडौँबाट गएर केही वर्ष अरूलाई अक्षर पनि चिनाएको छ । त्यहाँ राजाको दरबार थियो । देवयानी अड्डा थियो । त्यहाँको राज्य नरहे पनि देवयानी अड्डा हुनुपर्छ भन्ने माग उठेको थियो ।
अहिले आएर फागुन ७ गतेको दिन रहेछ भन्ने लाग्छ । देशभर हर्कबढाइँ भइरहेको थियो रे । राणाविरुद्धको आन्दोलनको बारेमा त्यति जानकारी छैन । तर, त्यही फागुन ७ गते दाइले भरुवा बन्दुक घरमै भरेको सम्झना छ, उहाँ बन्दुक भिरेर हिँड्नुभएको सम्झन्छु ।
राणाबाट राजामा सत्ता गएको दिन भएर होला राजाहरूले दरबारमै हर्कबढाइँ गरेका थिए । राणाहरू गए, प्रजातन्त्र आयो भनेर दाजु हिँड्नुभएको सम्झना छ । त्यसपछि त्यो राज्य रहेन । म बुबासँग काठमाडौँ आएको हुँ ।
२०१४ सालमा म १७ वर्षको थिएँ । केही उतारचढाबका बीच मैले पढ्न सुरु गरेँ । त्यही बेलादेखि नै विद्यार्थी आन्दोलनमा भाग लिने अवसर पनि मिल्यो । मैले तत्कालीन नेकपाको सम्पर्कमा जान थालेपछि धेरै कुरा बुझ्ने अवसर पाएँ ।
जब पार्टीको सम्पर्कमा हुन थालियो, त्यसपछि लोकतन्त्र के हो ? प्रजातन्त्र के हो ? अधिकार के हो ? किन चाहिन्छ ? भन्ने विषयमा राम्रो प्रशिक्षण पनि पाएँ ।
त्यसपछि नेपाली जनतामाथि भएको ज्यादतीका बारेमा थाहा हुन थाल्यो । आफ्नो अधिकारका बारेमा बुझ्न थालियो । त्यही अधिकार प्राप्तिका लागि विद्यार्थी आन्दोलनमा सामेल भएँ ।
सैद्धान्तिक रूपमा २००७ साललाई प्रजातन्त्रिक दिवसका रूपमा मान्दैनौँ । त्यो बेला भारतका जहावरलाल नेहरु, नेपालका राजा त्रिभुवन र मोहनशम्शेरका बीचमा एक प्रकारको सम्झौता भएको हो ।
राणाको हातमा भएको सत्तालाई राजाको हातमा पुर्याइएको हो । यदि त्यो प्रजातन्त्र हुन्थ्यो भने त्यसपछिका दिनमा पनि ३० वर्ष प्रजातन्त्रका लागि नै लड्नुपर्ने अवस्था आउने थिएन । ३० वर्ष प्रजातन्त्रका लागि अनेकौँ हन्डर ठक्कर खाएको मान्छे मै हुँ ।
३ पटक सरकारी स्तरबाट मेरो सम्पत्ति रोक्का भयो । पटकपटक घर खानतलासी भयो । म धेरै पटक गिरफ्तार भएँ । १९ वर्ष भूमिगत बसेँ । ९ महिना जेल जीवन बिताएँ । कति दुःख दिए, कति यातना दिए ।
प्रजातन्त्रका लागि २००७ साल नै जड हो म भन्दिनँ । हामीले यसको जड सम्झिने हो भने त ब्रिटिस साम्राज्यवादलाई भारतीय जनताले नलखेटेको भए त सम्भव पनि थिए ।
भारतीय जनताले साम्राज्यवादलाई भारतबाट लखेटेपछि मात्र नेपालमा ब्रिटिसको टेको लगाएर बसेका राणाहरूले सत्ता छाड्नुपरेको हो ।
२००७ सालको घटनाले नेपालमा लोकतन्त्र ल्याउनका लागि केही र महत्वपूर्ण भूमिका निर्वाह चाहिँ गरेको छ ।
हामीले संघीयताबिनाको लोकतान्त्रिक गणतन्त्र नेपाललाई मात्र वास्तविक प्रजातान्त्रिक मुलुकका रूपमा बुझेका छौँ, त्यो नहुँदासम्म जतिसुकै परिभाषा परिवर्तन गरे पनि प्रजातन्त्रको अनुभूति जनताले गर्न पाउँदैनन् ।
अहिले पनि दरबारले जुल्काइरहेको छ, गणतन्त्र सिध्याउनुपर्ने भनेर, स्वयं राजनीतिक पार्टीहरूले पनि बद्मासी गरिरहेका छन् । लोकतात्रिक आचरण, चरित्र र व्यवहार अहिले पनि राजनीतिक पार्टीमा आउन सकेको छैन ।
प्रजातन्त्र भनेर मात्र हुँदैन । हामीमा त्यो अनुसारको चरित्र निर्माण पनि हुनुपर्छ ।
नेपालको लोकतन्त्रमाथि अहिले पनि कालो बादल मडारिइरहेको छ । राजनीतिक दलहरूको कमजोरीलाई दरबारले हतियार बनाएर लोकतन्त्र सिध्याउन अविराम प्रयत्न गरिरहेको छ । हामीले अझै पनि प्रजातन्त्रका लागि लड्नुपर्ने छ ।