Nic Ad Nic Ad
Nic Ad Nic Ad

पिएसजीको संघर्षपूर्ण जितमा मेसीको गोल निर्णायक

सोमबार, फागुन ८, २०७९

काठमाडौँ– लियोनल मेसीले खेलको ९० मिनेट सकिएर थप गरिएको अतिरिक्त समयमा गोल गरेपछि फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पिएसजी)ले संघर्षपूर्ण जित निकालेको छ ।

गएराति भएको खेलमा पिएसजीले लिलमाथि ४–३ गोलको संघर्षपूर्ण जित निकालेको हो । ३–३ गोलको बराबरीको अवस्थामा मेसीले अन्तिम समयमा गोल गर्दै आफ्नो टोलीका जित सुनिश्चित गराए । 

घरेलु मैदानमा भएको खेलको ११ औँ मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । फेरि नेइमारले १७ औं मिनेटमा गोल गरेपछि पिएसजीलाई २–० को अग्रता लियो ।

खेलको २४ औँ मिनेटमा लिल खेलमा फर्कियो । बाफोडे डियाकिटेले गोल गर्दै लिललाई २–१ को अवस्स्थामा ल्याए ।

लिल यतिमै रोकिएन । जोनाथन डेभिडले ५८ औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै लिललाई २–२ गोलको बराबरीमा ल्याए ।

खेलको ६९ औं मिनेटमा जोनाथन बाबाले गोल गर्दै लिललाई ३–२ को अग्रताको अवस्थामा पुर्याए ।

तर, ८७ औँ मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पिएसजीको हारमात्र टारेनन् खेल ३–३ को बराबरीमा ल्याए ।

त्यसपछि खेलको इन्जुरी समय अर्थात ९५ औँ मिनेटमा मेसीले गोल गर्दै टोलीको जित सुनिश्चित गराए । 

शीर्ष स्थानमा रहेको पिएसजीले यो जितसँगै २४ खेलमा ५७ अंक जोडेको छ ।

लिल भने ४१ अंक जोडेर लिगको छैटौं स्थानमा रहेको छ ।

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  ०७:२९
प्रतिक्रिया दिनुहोस्