११ फागुनदेखि १५ जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
काठमाडौँ –६ वटा प्रदेशका १५ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सुरु हुँदै छ । सरकारले ११ फागुनदेखि यो अभियान सुरु गर्दैछ ।
२५ फागुनसम्म औषधि खुवाउने अभियान चल्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, दाङ, बाँके र कैलाली जिल्लामा यो अभियान सुरु हुने महाशाखाले जनाएको छ । यसअघिका अभियानमा धेरैले औषधि नखाएका कारण समस्या देखिएकाले यसपटक स्वास्थ्यकर्मीको अगाडि नै औषधि खान भनिएको महाशाखाका निर्देशक डा. चुमनलाल दासले बताउए । धेरैले औषधि नै नखाइदिएकाले रोग निवारणमा समस्या भइरहेको उनको भनाइ छ ।
हात्तीपाइले शारीरिक रूपमा अशक्त तथा अपाङ्ग बनाउने सरुवा रोग हो । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुकाजस्तै परजीवीले गराउँछ । यो रोग सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्दछ । रोगको लक्षण देखिसकेपछि निको पार्न नसकिने र धेरैजसो सङ्क्रमण लक्षण बिनाको हुने भएकाले समुदायका अन्य व्यक्तिहरूलाई समेत रोग सर्ने सम्भावना धेरै हुने डाक्टरहरूको भनाइ छ ।
२ वर्ष उमेर नपुगेका बालबालिकाहरू, गर्भवती र ७ दिनसम्मका सुत्केरी, छारे रोगका समस्या भएका तथा सिकिस्त बिरामीहरूले यो औषधि खानु नहुने महाशाखाले जनाएको छ ।