Nic Ad Nic Ad
Nic Ad Nic Ad

मुख्यमन्त्री शाहको दाबी– सुदूरपश्चिम सरकार ५ वर्ष टिक्छ 

सोमबार, फागुन ८, २०७९

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो नेतृत्वको सरकारले विश्वासको मत पाएर ५ वर्ष चल्ने बताएका छन् ।

सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा उनले विभिन्न प्रकारका अफवाह फैलाउने काम भइरहेको बताए ।

‘सबैसँग सहकार्य गरेर खुल्ला छलफल भइरहेको छ । चाँडै नै हामी टुङगोमा पुग्छौँ,’ उनले भने । प्रदेश मध्यावधि निर्वाचनमा नजाने बताउँदै उनले संविधानले दिएको जिम्मेवारी पूरा हुने प्रष्ट पारे । उनले जनताको भावनाअनुसार नै आफू नेतृत्वको सरकार अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरे । 

सरकारले भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता दिएको उल्लेख गर्दै मुख्यमन्त्री शाहले मन्त्रिपरिषद्को पहिलो बैठकबाट भ्रष्टाचार नियन्त्रणका लागि प्रादेशिक कार्यतर्जुमा समिति गठन गरी काम अघि बढिरहेको जनाए ।

उनले प्रदेशको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगारी सिर्जनामा सरकार केन्द्रित रहने बताए ।

मुख्यमन्त्री शाह पुस २६ गते सो पदमा नियुक्त भएका थिए । उनले अहिलेसम्म विश्वासको मत लिएका छैनन् । कुल ५३ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउन २७ सांसद आवश्यक पर्छ ।

नेपाली कांग्रेसका १९ र एकीकृत समाजवादीका ४ गरेर सत्तारुढ पक्षसँग अहिले २३ सांसद छन् ।

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  १२:१५
प्रतिक्रिया दिनुहोस्