नेभिगेशन
समाचार

राष्ट्रपति चुनावबारे निर्णय लिन माओवादी पदाधिकारी बैठक बस्दै

काठमाडौँ– नेकपा माओवादी केन्द्रले राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्न पदाधिकारी बैठक बोलाएको छ । 

सोमबार दिउँसो साढे ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने तय भएको कार्यालय सचिव श्रीराम ढकालले बताए ।

‘पदाधिकारी बैठक बस्ने तय भएको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुन्छ’, उनले भने ।

समसामयिक राजनीतिका बारेमा छलफल हुँदा राष्ट्रपति उम्मेदवारका बारेमा स्वाभाविक रूपमा छलफल हुने उनले बताए । 

‘राष्ट्रपतिको चुनाव छलफलको स्वाभाविक विषय हो । बैठकमा यसबारे विस्तृतमा छलफल हुन्छ’, ढकालले भने । 

माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरा विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन पोखरा गएका छन् । 

उनी फर्किएपछि  बस्ने गरी साढे ४ बजेको लागि बैठक राखिएको ढकालले बताए । 

आज बस्ने माओवादी केन्द्रको पदाधिकारी बैठकबाट राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई सघाउने निर्णय हुन सक्ने माओवादी केन्द्रका एक नेताले बताए । 

कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता रामचन्द्र पौडेल, उपसभापतिहरू पूर्णबहादुर खड्का र धनराज गुरूङ, महामन्त्री गगन थापा र पूर्वमहामन्त्री कृष्ण सिटौलासहितलाई आइतबार बालुवाटार लगेर प्रधानमन्त्रीसँग राष्ट्रपति चुनावबारे छलफल गराएका छन् । 

उक्त छलफलमा राष्ट्रपतिको चुनावमा सहयोग गर्न कांग्रेसले औपचारिक प्रस्ताव प्रधानमन्त्री प्रचण्डसमक्ष राखेको छ । 

प्रधानमन्त्री प्रचण्डले भने आफ्नो पार्टीमा छलफल गर्ने वचन कांग्रेसका नेताहरूलाई दिएको बताइएको छ ।

आगामी राष्ट्रपति को बन्छ भन्ने कुरा माओवादी केन्द्रको निर्णयमा भर पर्ने भएकाले माओवादीको पदाधिकारी बैठकलाई राजनीतिक वृत्तमा रुचिपूर्वक लिइएको छ । 

फागुन १३ गते राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने निर्वाचन कार्यक्रम छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार