Nic Ad Nic Ad
Nic Ad Nic Ad

बैंकविरुद्ध सिन्धुपाल्चोकका व्यवसायी आन्दोलित

सोमबार, फागुन ८, २०७९

काठमाडौँ– बैंकहरूले ज्यादती गरेको भन्दै सिन्धुपाल्चोकका उद्योगी, व्यवसायी पनि पनि आन्दोलित भएका छन् । 

आइतबार सिन्धुपाल्चोकका उद्योगी–व्यवसायीहरू मिलेर बैंकहरूले चर्को ब्याजदर लिएको भन्दै आन्दोलन स्वरूप बैंक तथा वित्तीय संस्थाहरूको ज्यादतीविरुद्ध अन्तर्क्रिया गरेका हुन् ।

अन्तर्क्रिया कार्यक्रममा बोल्दै सिन्धु पर्यटन व्यवसायी संघका अध्यक्ष नारायण श्रेष्ठले बैंक वित्तीय संस्थाहरूले गरेका क्रियाकलाप यसैगरी अघि बढ्ने हो भने व्यवसायीहरू संगठित भएर देशभर नै आन्दोलन गर्नुपर्ने अवस्था आउने बताए ।

उनले बैंकहरू नसच्चिए व्यवसायीहरू द्वन्द्वात्मक ढंगले प्रस्तुत हुन बाध्य हुनुपर्ने बताए । बैंक, वित्तीय संस्था र राष्ट्र बैंकले यसमा हेक्का नराखे देशको अर्थतन्त्र श्रीलंकाको बाटोमा जाने निश्चित रहेको उनको भनाइ छ । 

व्यवसायीहरूलाई अहिले भइरहेका पीडाको सम्बोधन गर्न र सम्बोधन नभए व्यवसायीहरू पनि प्रतिरक्षात्मक ढंगले उत्रिने उनले चेतावनी दिए । उनले व्यवसायीहरूका माग तत्काल सम्बोधन गरेर अर्थतन्त्रलाई सुधार गर्न आवश्यक रहेको बताए ।

बैंक, वित्तीय संस्थामा त्रुटिपूर्ण ढंगले भइरहेका गतिविधि सच्याएर अघि बढ्न आवश्यक रहेको उनको भनाइ छ ।

त्यस्तै सिन्धुपाल्चोक उद्योग वाणिज्य महासंघका महासचिव शम्भु तिमल्सिनाले बैंकहरूले आफूलाई अप्ठ्यारो पर्दा व्यवहार मिलाउने गरेको आरोप लगाए । उनले बैंकहरूले पहिला ऋणीहरूबाट लिएको बढी ब्याज अहिले धमाधम फिर्ता गरिरहेको बताए ।

राष्ट्र बैंकले बैंकहरूमाथि नत्थी लगाएमा बैंकहरू सीमाअनुसार चल्न बाध्य हुने बताउँदै उनले ऋणीहरूलाई सम्झौताबेगरको ब्याजदर असुल्ने कुरा सह्य नहुने भन्दै राष्ट्र बैंकको नीतिअनुसार ऋणको ब्याजदर लिनुपर्ने बताए ।

उनले यस्ता कुराहरूमा कारोबार गर्नेहरू पनि सचेत रहन आवश्यक रहेको बताए ।

अन्तर्क्रियामा सहभागी अन्य वक्ताले कानुनका त्रुटिहरू सच्याएर अघि बढ्नुपर्ने बताए । उनीहरूले देशमै केही गर्छु भनेर लाग्ने व्यवसायीहरूलाई व्यवसायमैत्री वातावरण सिर्जना गर्न सरकारले नसकेको आरोप लगाए ।

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  १४:०६
प्रतिक्रिया दिनुहोस्