Nic Ad Nic Ad
Nic Ad Nic Ad

१२ बुँदे समझदारी पक्षधरलाई एक ठाउँ उभिन प्रधानमन्त्रीको अपिल

सोमबार, फागुन ८, २०७९

काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति  निर्वाचनमा १२ बुँदे समझदारीका पक्षधर शक्तिहरूलाई एक्कै ठाउँमा उभिन अपिल गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला एक ठाउँ उभिएका शक्तिहरूलाई फेरि पनि एकै ठाउँमा उभिन अपिल गरेका हुन् ।

पोखराको लेखनाथमा माओवादी केन्द्र गण्डकी प्रदेश समितिको छैटौँ पूर्ण बैठकमा बोल्दै उनले भने, ‘देश राजनीतिक र आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा छ । राजनीतिमा दूषित हावा देखिएको छ । अर्थतन्त्र अप्ठ्यारो ठाउँमा छ । १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला जुन-जुन शक्ति एक ठाउँ उभिएका थिए, फेरि पनि ती शक्तिहरू एक ठाउँ उभिन आवश्यक छ ।’ 

उनले राष्ट्रपति र उपराष्ट्रपतिमा राष्ट्रिय सहमति होस् भन्ने चाहनाको अन्तर्य पनि यही रहेको स्पष्ट पारे ।

उनले राष्ट्रिय सहमतिका लागि विभिन्न विकल्प भएको पनि उल्लेख गरे । ‘ठुला पार्टी एक ठाउँ उभिन नसक्ने अवस्था छैन । राज्यका मुख्य ठाउँहरूमा समझदारीका साथ अघि बढ्न सकिन्छ । हाम्रा लागि यही मान्छे भन्ने छैन, जहाँ सहमति हुन्छ, त्यहाँबाट अघि बढौँ । तर, ठुला दलहरू एक ठाउँ उभिनुपर्छ भन्ने हाम्रो प्रष्ट मान्यता छ’, प्रधानमन्त्री प्रचण्डले भने ।

उनले आफूहरूले राष्ट्रपतिमा कुनै व्यक्तिको कुरा नगरेको दाबी गर्दै ३ ठुला दल एक ठाउँमा रहनुपर्नेमा जोड दिए । 

प्रचण्डले २ महिना जनताका बीचमा गएर उनीहरूको कुरा सुन्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन पनि दिए । 
 

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  १६:२५
प्रतिक्रिया दिनुहोस्