राकम अस्पतालमा अक्सिजन प्लान्ट स्थापना
दैलेख–दैलेखको आठबीस नगरपालिका राकमको राकम आधारभूत अस्पतालमा स्थापित अक्सिजन प्लान्टको स्थापना गरिएको छ ।
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाहले सोमबार अक्सिजन प्लान्टको उद्घाटन गरे ।
उनले भने, ‘अहिले १०० बेडको भनिएको छ । यसलाई ३०० बेडको अस्पताल बनाउन मेरो पहल हुनेछ ।’
गैर आवासीय संघ (एनआरएनए) ले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अक्सिजन प्लान्ट सहयोग गरेको हो ।
अक्सिजन प्लान्टको उद्घाटन प्रश्चात आठबीसमा आधारभूत अस्पताल शल्यक्रिया सेवा, विशेषज्ञ सेवा सञ्चालन र १०० बेडको अस्पताल सम्बन्धित अन्तरक्रिया समेत भएको छ ।
अस्पताल निर्माणका लागि ४३ रोपनी जग्गा स्थानीयले उपलब्ध गराएका हुन् । अस्पताल सञ्चालनका लागि जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग ३ वर्ष पहिला सम्झौता भएको थियो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपति डा. मंगल रावलले अक्सिजन प्लान्टले १७० देखि २०० सिलिन्डर उत्तपादन गर्ने क्षमता रहेको बताए ।