चन्द्र भण्डारीलाई भेन्टिलेटरबाट निकालियो
काठमाडौँ– नेपाली कांग्रेसका सांसद डा.चन्द्र भण्डारीलाई भेन्टिलेटरबाट निकालिएको छ ।
भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारीको स्वास्थ्य रिपोर्टअनुसार सबै ‘पारामिटर नर्मल’ रहेको देखिएपछि सोमबार बिहानदेखि भेन्टिलेटरबाट निकालिएको हो ।
साथमै मुम्बईमा रहेका माधव न्यौपानेका अनुसार उनको फोक्सोले आफैं काम गर्न थालेपछि कृत्रिम अक्सिजनको मात्रा ४५ प्रतिशतले घटाइएको थियो । हातको जलेको भागले काम गर्न थालेकाले अप्रेशन गर्न नपर्ने भएको न्यौपानेले जनाएका छन् ।
गत शुक्रबार उनको पहिलो शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको थियो ।
गत बुधबार राति आफ्नो निवासमा ग्यास सिलिन्डर चुहिएर सांसद डा भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएकी थिइन् ।
घट्नालगत्तै उनीहरु दुवैजनाको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो । आमा हरिकलाको भने उपचारका क्रममा बिहीबार बिहान निधन भएको थियो ।
नेपालमा उपचार सम्भव नभएपछि नेता डा भण्डारीलाई बिहीबार नै श्री एयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा थप उपचारका लागि लगिएको थियो । नेता भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत जलेको थियो ।