Nic Ad Nic Ad
Nic Ad Nic Ad

जसपाको केन्द्रीय समिति विस्तार

सोमबार, फागुन ८, २०७९

काठमाडौँ– जनता समाजवादी पार्टी, नेपालले आज आफ्नो केन्द्रीय समिति विस्तार गरेको छ ।

पार्टी कार्यालय बालकुमारीमा आइतबार र आज सोमबार गरी दुई दिनसम्म चलेको कार्यकारिणी समितिको बैठकले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र सुरेन्द्र कर्मीलाई राजनीतिक समितिमा, ओमप्रकाश यादव र सोमबहादर नेपालीलाई केन्द्रीय समितिमा तथा दलबहादुर लावती, कर्णबहादुर लावती र बलराम महतोलाई सङ्घीय परिषद् सदस्यमा मनोनयन गरिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार केन्द्रीय सदस्यहरू जोगीलाल यादव र प्रचण्डकुमार पौडेललाई ट्रेड युनियन तथा बौद्धिक पेसाकर्मी महासङ्घ संयुक्त संयन्त्रको उपप्रमुखको जिम्मेवारी दिइएको छ । 

बैठकले विधान अधिवेशनका लागि पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीको संयोजकत्वमा विधान अधिवेशन मूल व्यवस्थापन समिति गठन गरेको छ ।

समितिको सदस्यहरूमा विजय यादव, सुशीला श्रेष्ठ, लालबहादुर तामाङ, अर्जुन थापा, विद्युत् बज्राचार्य र न्हुच्छेलाल महर्जन रहेका छन् । मूल व्यवस्थापन समितिले आवश्यकताअनुसार उपसमिति बनाउन सक्ने बताइएको छ । 

जसपाले विधान अधिवेशन आगमी चैत २७, २८ र २९ गते काठमाडौँमा गर्ने आइतबार निर्णय गरेको थियो ।

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  २२:०४
प्रतिक्रिया दिनुहोस्