Nic Ad Nic Ad
Nic Ad Nic Ad

३५ वर्ष भारतमा काम गरे, १ वर्षदेखि ओढारमै बास !

मंगलबार, फागुन ९, २०७९

म्याग्दी– बेनी नगरपालिकाको वडा नं ७ मा पर्ने कुरिलाखर्कको सडक र पैदलमार्ग भएर दैनिक सयौँ सवारीसाधन र मानिस ओहोरदोहोर गर्छन् ।  बेनी–५ भिरमुनिका ५० वर्षीय राहुल विकले एक वर्षदेखि सोही सडकको छेउमा रहेको ओढारमा आश्रय लिइरहेका छन् । छोराहरूको मृत्यु, श्रीमतीले दोस्रो विवाह गरेको र आफन्तले हेला गरेपछि ओढारमा बस्नुपरेको उनले बताए ।

‘शक्ति र उमेर हुँदासम्म ३५ वर्ष भारतमा काम गरेँ,’ उनले भने, ‘उमेर घर्किएपछि गाउँ फर्कँदा साथ दिने कोही भएनन् । हेला गर्न थालेपछि घर छाडेर ओढारमा बस्न थालेको हुँ ।’

राहुलले कन्दमूल खोज्ने र मागेर ल्याएको अन्नबाट दैनिकी चलाउने गरेका छन् । सो ओढार बेनी बजारबाट करिब एक किलोमिटर नजिकको दूरीमा छ । उनी सडकको कान्लामाथिको सानो ओढारमा फाटेका कपडा ओछ्याएर सुत्ने गर्छन् । शारीरिक कमजोरीका कारण श्रम गर्न नसक्ने राहुल बोल्न र कुराकानी गर्न सक्दैनन् । 

‘राहुल विक मेरो भैँसी फार्मसँगै जोडिएको ओढारमा बस्न थाल्नुभएको एक वर्षजति भयो,’  कुरिलाखर्कका सुरेश ढुंगानाले भने, ‘उहाँ काम गर्न सक्दिनँ । मलाई यही ठिक छ भन्नुहुन्छ ।”

ढुंगानाको भकारो छेउको गोलभेँडा टिपेर तरकारी बनाउने राहुल अरु खाद्यान्न माग्न बजार झर्छन् । दिउँसोमा घाम लागे पनि रातमा चिसो हावा सिधैँ ओढारभित्र छिर्छ । उनलाई मागेर जुटाएको खाद्यान्न बाँदरबाट जोगाउनै हम्मे पर्छ । रातमा चितुवाको समेत डर छ ।

कुरिलाखर्ककी बासिन्दासमेत रहेकी बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले राहुललाई ओढारबाट घरमा पठाउने प्रयास गरे पनि नमानेको बताइन् । ‘ओढारमा बसेको देख्नेबित्तिकै खोजीनीति गरेको हो,’ उनले भनिन्, ‘अन्त जाने ठाउँ छैन, यहाँबाट नपठाउनु भनेर मान्दै मान्दैनन् ।’
 

प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  ०७:३५
प्रतिक्रिया दिनुहोस्