Nic Ad Nic Ad
Nic Ad Nic Ad

धार्मिक पर्यटन प्रवर्द्धन गर्दै ‘महाआरती’

मंगलबार, फागुन ९, २०७९

नेपालगन्ज– नेपालगन्जस्थित बागेश्वरी मन्दिरमा सुरु भएको साप्ताहिक ‘महाआरती’ ले धार्मिक पर्यटन प्रवर्द्धन गरेको छ ।

प्रत्येक सोमबार हुने महाआरतीमा सहभागी हुन भक्तजनको घुइँचो लाग्ने गरेको छ । महाआरतीमा नेपालगन्जबासीलगायत टाढा–टाढाबाट स्वःस्फुर्त रूपमा भक्तजन सहभागी हुने गरेका छन् । 

बागेश्वरी मन्दिरमा चौथो महाआरतीमा सोमबार अहिलेसम्मकै सबैभन्दा धेरै भक्तजनको घुइँचो लागेको बागेश्वरी गुठी व्यवस्थापन समितिले जनाएको छ । पण्डित वा बटुकद्वारा वैदिक मन्त्र उच्चारण गरी संकल्पसहित पूजाअर्चना गरेर धार्मिक विधिअनुसार महाआरती गरिने बागेश्वरी मन्दिरका मूल महन्थ चन्दननाथ योगीले बताए । 

उनका अनुसार महाआरतीमा ३ जना पण्डितले चारै दिशातर्फ फर्किएर आरतीका विधि पूरा गर्ने र सन्ध्या आरतीपछि भजनकीर्तन पनि गर्ने गरिएको छ ।

महाआरतीमा सहभागी हुँदा पितृमोक्षका साथै मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

‘वेस्टर्न ट्राभल मार्ट’को अवसरमा गत माघ १५ गतेदेखि साप्ताहिक रूपमा बागेश्वरी मन्दिरमा महाआरती सुरु गरिएको थियो ।

ट्राभल एजेन्ट्स एसोसिएसन अफ नेपाल (नाट्टा) बाँके च्याप्टरको पहलमा बागेश्वरी गुठी व्यवस्थापन समिति र नेपालगन्ज उपमहानगरपालिकासँगको सहकार्यमा प्रत्येक सोमबार अपराह्न ५ बजेपछि महाआरती हुने गरेको छ । 

महाआरतीको अवसरमा बागेश्वरी मन्दिर परिसरमा भक्तजनले स्वःस्फुर्त रूपमा भजनकीर्तन र नाचगान गर्ने गरेका छन् ।

बागेश्वरी मन्दिरमा प्रत्येक सोमबार हुने महाआरतीले धार्मिक पर्यटक प्रवर्द्धनमा सघाउ पुगेको नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले बागेश्वरी मन्दिरमा महाआरती सञ्चालन गर्न नेपालगन्ज उपमहानगरपालिकाले सक्दो सहयोग गर्ने जानकारी दिए ।

महाआरतीले धार्मिक पर्यटन प्रवर्द्धनका साथै नगरबासीमा धार्मिक आस्थाप्रति रुचि बढ्ने उनको भनाइ छ ।
 

प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  १०:१०
प्रतिक्रिया दिनुहोस्