Nic Ad Nic Ad
Nic Ad Nic Ad

कम्बोडियाबाट चोरिएका प्राचीन राजमुकुट र आभूषण बेलायतमा भेटियो

मंगलबार, फागुन ९, २०७९

काठमाडौँ –कम्बोडियाको एङ्कोरबाट चोरिएका प्राचीन राजमुकुट र आभूषण बेलायतमा फेला परेका छन् । तीमध्ये केही सातौँ शताब्दीका रहेको खुलेको छ । ती सामग्रीहरू पुरातात्त्विक वस्तुको तस्करी गर्ने बेलायतको डग्लस ल्याच्फर्डको स्वामित्वमा रहेका थिए ।

फेला परेका आभूषणहरूको सङ्ग्रह गोप्य रूपमा कम्बोडियाको राजधानी फिर्ता पठाइएको बीबीसीले जनाएको छ । अब ती पुरातात्विक वस्तुहरू कम्बोडियाको राष्ट्रिय सङ्ग्रहालयमा प्रदर्शनीमा राखिनेछ । अमेरिकामा मुद्दाको सुनुवाइको पालो कुर्दाकुर्दै ल्याच्फर्डको सन् २०२० मा ज्यान गएको थियो । उनको परिवारले कम्बोडियाबाट चोरिएका ती वस्तुहरू फिर्ता गर्ने वचन दिएको थियो ।

कम्बोडियाको अनुसन्धान टोलीका प्रमुख ब्रायड गोर्डनले गएको वर्ष बेलायतको भ्रमण गर्दा पहिलो पटक ती प्राचीन आभूषणहरू देखेको बताएका छन् । राजमुकुट र रत्नजडित ७७ वटा विभिन्न आभूषण फेला परेका उनको भनाइ छ । ती आभूषणहरू कसरी र कहिले हराएका थिए तथा कसरी बेलायत पुगे भन्ने बारेमा स्पष्ट छैन ।

कम्बोडिया फ्रान्सको उपनिवेश हुँदा एङ्कोरमा ठूलो लुटपाट भएको थियो । कम्बोडियाका अधिकारीले एङ्कोरबाट हराएका अझ धेरै आभूषणहरू फेला पर्न बाँकी नै रहेको बताउँदै आएका छन् ।


 

प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  ११:०६
प्रतिक्रिया दिनुहोस्