Nic Ad Nic Ad
Nic Ad Nic Ad

कुशे आवतजावत गर्न सास्ती

मंगलबार, फागुन ९, २०७९

जाजरकोट– हिउँदयाममा मात्र सडकको पहुँचमा हुने कुशे गाउँपालिकामा निजी सवारीसाधनले निर्धारित भाडाभन्दा बढी असुल गरेको पाइएको छ ।

रातो प्लेटका सवारीसाधनले सार्वजानिक यातायातजस्तै गरेर भाडा असुलेर सञ्चालन गर्न नपाइने भए पनि सदरमुकामबाट कुशे आउने अधिकांश सवारीसाधनले धेरै रकम उठाइरहेको सरोकारवालको गुनासो छ ।

जाजरकोटबाट काठमाडौँ गएको भन्दा बढी भाडा सदरमुकामबाट कुशे गाउँपालिकाको प्रशासकीय केन्द्र भार्म आएको भाडा रहेको बताइएको छ ।

रातो प्लेटमा सञ्चालनमा रहेको निजी सवारीसाधनले यात्रुलाई राखेर जबर्जस्ती भाडा असुल गरिरहेको स्थानीय कर्णबहादुर थापाले गुनासो गरे । कुशे आवतजावत गर्न सास्ती हुने गरेको यात्रुको भनाइ छ ।

५ यात्रु अट्ने गाडीमा २० यात्रु राखेर गाडी चलाएको प्रहरीले देखे पनि नियन्त्रणतर्फ ध्यान नदिएको उनले बताए ।

गाउँपालिकाको केन्द्र जोड्ने सरुगाडमा पुल नहुँदा अर्को समस्या हुँदै आएको छ । साविकको पैँक, ढिक, खुर्पा, समाइलालगायत ठाउँलाई पालिकासँग जोड्न सरुगाड पार गर्नुपर्ने हुन्छ । पालिका भार्म सरुगाडभन्दा पारिपट्टि छ ।

अर्छानी, टालेगाउँलगायत ठाउँसमेत सरुगाडभन्दा पारिपट्टि छन् । हिउँदयाममा खोलाको पानी कम भए पनि वर्षायाममा यो बाटोमा यातायातका साधन खोलाकै कारण ठप्प हुँदै आएका छन् ।

गाउँपालिका स्थापना भएको पहिलो कार्यकाल पूरा भएर दोस्रो काल सुरु हुँदासम्म सडक र पुल निर्माणमा ध्यान नजाँदा सर्वसाधारणले हैरानी खेप्नुपरेको छ ।

सबै पालिकाको मुकामका पक्की सडक निर्माण गर्ने संघीय सरकारको नीति छ । कुशेमा यातायातका साधन चढ्न निकै मुस्किलमात्र होइन, चुनौतीसमेत हुँदै गएको सर्वसाधारण बताउँछन् ।

छेडा–कुशे र खलंगा–कुशे सडक स्तरोन्नतिमा ध्यान नदिए बर्सेनि यहाँका नागरिकले दुःख पाउने क्रम नरोकिने सर्वसाधारण बताउँछन् ।

प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  ११:०८
प्रतिक्रिया दिनुहोस्