Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को फिल्ड अडिसन बुटवलमा

मंगलबार, फागुन ९, २०७९

काठमाडौँ –इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को फिल्ड अडिसन सुरु भएको छ ।

यी दुवै कार्यक्रमहरूको फिल्ड अडिसन नेपालको विभिन्न सहरसँगै भारतको सिलिगुडीमा हुने भएको हो । जसअनुसार बुटवलमा फागुन १० गते, सिलिगुडीमा फागुन १४ र १५ गते, दमकमा फागुन २० र २१ गते र काठमाडौंमा फागुन २७ र २८ गते हुनेछ । अडिसन दिन आउँदा प्रतियोगीहरूले आफ्नो उमेर खुलाएको आधिकारिक कागज लिएर आउनुपर्ने आयोजकले जनाएको छ । फिल्ड अडिसनबाट चुनिएका प्रतियोगीहरू काठमाडौँमा आएर स्टुडियो अडिसनमा सहभागी हुनेछन् ।

साथसाथै देश विदेशबाट सहभागी हुन चाहनेले माई इन्ट्रा एप डाउनलोड गरेर रजिष्टर गर्न सक्ने छन् । डिजिटल अडिसनमा सहभागी भएका प्रतियोगीहरूले पनि अनिवार्य रूपमा फिल्ड अडिसनमा सहभागी जनाउन पर्नेछ ।

त्यस बाहेक ‘मेरो डान्स यूनिभर्स’को सांस्कृतिक समूह विधामा सहभागी हुन चहानेले पनि एपमार्फत् अडिसन दिन सक्नेछन् । सांस्कृतिक समूहमार्फत् सहभागी हुनेले भने फिल्ड अडिसनमा उपस्थित हुनु पर्नेछैन । डिजिटल अडिसनको अन्तिम मिति फेब्रुअरी २८ तोकिएको छ भने अडिसन दिने सहभागी कम्तीमा १८ वर्षको हुनपर्नेछ ।

‘मेरो भ्वाइस यूनिभर्स’को निर्णायक मण्डलमा सुरेश अधिकारी, शिव परियार, अन्जु पन्त, सुजाता वर्मा, पुष्पन प्रधान जस्ता वरिष्ठ गायकहरू समावेश छन् । साथै ‘मेरो डान्स यूनिभर्स’को निर्णायक मण्डलमा मिथिला शर्मा, दिलीप रायमाझी, शंकर बि.सी, केकी अधिकारी, प्रियंका कार्की र नरमन राई रहने जनाइएको छ ।

यी दुई शोहरू नेपालकै सर्वाधिक धेरै धनराशी भएको रियालीटी शो हुन् । फाउन्डेसनका अनुसार ‘मेरो भ्वाइस यूनिभर्स’का विजेताले नेपाली १ करोड रुपैयाँ पुरस्कार पाउनेछन् । साथै फस्ट रनरअपले ३० लाख रुपैयाँ र सेकेन्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

यस्तै, ‘मेरो डान्स यूनिभर्स’को विजेताले पनि १ करोड रुपैयाँ पुरस्कार पाउने छन् भने फस्ट रनरअपले ३० लाख रुपैयाँ र सेकेन्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

‘डान्स यूनिभर्स’को सांस्कृतिक समुह विधाको विजेताले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । साथै फस्ट रनरअपले १० लाख रुपैयाँ र सेकेन्ड रनरअपले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

फाउन्डेसनले नेपाल बाहेक, म्यानमार, थाइल्याण्ड, भुटान, भारत, अष्ट्रेलिया, अमेरिका, क्यानडा लगायत युरेपेली देशहरुबाट पनि नेपाली भाषीहरूको वृहत् सहभागिताको अपेक्षा राखेको जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  १३:०२
प्रतिक्रिया दिनुहोस्