राष्ट्रपतिबारे माधव नेपाल भन्छन्–अहिलेसम्म केही सोचेको छैन
दाङ –नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमर नेपालले राष्ट्रपति निर्वाचनलाई ‘पावर सेयरिङ’को रूपमा लिने संकेत गरेका छन् ।
दाङको भालुबाङ्गमा मंगलबार पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले राष्ट्रपति बन्न आफूलाई ठोस प्रस्ताव नआएको दाबी गरे । तर, उनले आफू के बन्ने भन्ने बारेमा अझै सोचि नसकेको बताए ।
‘अहिले बजारमा हल्लाहरू धेरै छन् । चर्चा/परिचर्चाहरू धेरै छन् । यस सन्दर्भमा कुनै टुंगो लागेको छैन’, उनले भने, ‘चाहना राख्ने कुरा बेग्लै कुरा हो । मैले नै आफू के गर्ने सोचिसकेको छैन । हाम्रो पार्टीले पनि के गर्ने भन्ने कुरा निर्णय गरिसकेको छैन । तर, पार्टीको धारणा के छ भन्दा खेरि पावर सेयरिङमा हाम्रो पार्टीको भूमिका हुनुपर्दछ ।। ‘पावर सेयरिङ’मा भूमिका नगरेर अरूकै लागि सधै बलिदान हुने र अरूले फाइदा उठाउने कुरा मान्य नहुने अध्यक्ष नेपालले बताए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति बन्न प्रस्ताव गरेको समाचारहरू सार्वजनिक भएको सन्दर्भमा नेपालले कतिपय कुराहरूलाई पर्दाभित्रै रहन दिँदा उपयुक्त हुने बताए । ‘प्रेसमा आएका सबै समाचारहरू साँचो हुन्छन् भन्ने छैन’, उनले भने, ‘अहिले नै बोल्ने कुराको हतार गर्नुहुन्न । हतार नगरिकन पर्दाभित्र नै रहन दिनुपर्छ ।’
निर्वाचनअघि पार्टीका वरिष्ठ नेता झलनाथ खनाललाई राष्ट्रपति बनाउने विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहमत रहेको उनले दाबी गरे । तर, खनाल निर्वाचनमा पराजय भएपछि राष्ट्रपति बन्ने विषयमा ठोस निर्णय नभएको उनको भनाइ छ ।
उनले राष्ट्रपतिको लागि बृहत छलफलको आवश्यकता रहेको उल्लेख गर्दै नेपालले पार्टीको ध्यान देशको हितको रक्षा गर्नुपर्ने कुरामा रहेको बताए ।
‘संविधानलाई जोगाउने विषयमा हामी अत्यन्तै चनाखो हुनुपर्ने छ’, उनले भने, ‘देशलाई समाजवादको दिशातर्फ लग्ने सोचतिर हामीले ध्यान दिएका छौँ ।’