सरकारले बिजनेस नदिँदा ‘बेकामे’ बन्दै संसद्
काठमाडौँ– सरकारले संसद्लाई बिजनेस नदिँदा यस पटकको हिउँदे अधिवेशन शून्य र विशेष समयमा नै सकिने भएको छ ।
सरकारले बिजनेस नदिँदा संसद्ले राम्रोसँग काम गर्न नसकेको गुनासो सांसदहरूले गरिरहेका छन् । वर्तमान संसद् प्राविधिक कुराहरूमा अल्झिँदा अन्य संसदीय गतिविधि हुन सकेका छैनन् ।
संसद् सचिवालका प्रवक्ता एकराम गिरीले अघिल्लो प्रतिनिधिसभापछि निष्क्रिय भएका विधेयकहरूलाई पुनः दर्ता गर्ने गरी सरकारले हाल कुनै पनि विधेयक नल्याएको बताए ।
न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले अघिल्लो प्रतिनिधिसभाको कार्यकाल सकिएपछि २७ वटा विधेयक निष्क्रिय भएकामध्ये सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐन संशोधन गर्न बनेको विधेयक दर्ता भए पनि अन्य कुनै पनि विधेयक दर्ता नगराएको बताए ।
उनले संसद्लाई बिजनेस सरकारले दिने भएकाले सरकारले दर्ता गरेको अवस्थामा विधेयकहरू सचिवालयमा आएर रोकिने अवस्था नरहेको स्पष्ट पारे । हालसम्म प्रतिनिधिसभामा ४ वटा विधेयक र राष्ट्रियसभामा ९ वटा विधेयक विचाराधीन छन् ।
उनले प्रतिनिधिसभामा सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकका साथै राष्ट्रियसभाबाट प्रतिनिधिसभामा सन्देशसहित आएका ३ वटा विधेयक रहेको उल्लेख गरे ।
प्रतिनिधिसभामा खाद्य स्वच्छता तथा गुणस्तर विधेयक पेस भइसकेको बताएका प्रवक्ता गिरीले प्रतिनिधिसभाको आगामी बैठकमा सम्पत्ति शुद्धिकरणसँग सम्बन्धित केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पेस हुने सम्भावना रहेको जनाए ।
‘विधेयकको कानुन बन्दा र विधेयकको प्रक्रिया पूरा गर्दा कति समय लाग्छ भन्ने कुरा आवश्यकतामा पनि निर्भर गर्छ,’ उनले भने, ‘जरुरी विधेयक भए छिटो हुन्छ, त्यसले कार्यमा प्राथमिकता पाउँछ । कतिपय अवस्थामा समय लाग्न पनि सक्छ । समितिमा गएको अवस्थामा यति नै समय लाग्छ भन्न सकिँदैन ।’
यता नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले सरकारले संसद्लाई बिजनेस दिन नसकेको बताए । उनले सरकारले संसद् कहिलेसम्म चल्ने हो भन्ने सुनिश्चितता दिन नसकेकाले सांसदहरूले संसद्मा आएका विधेयकहरूमा ध्यान दिन नसकिरहेको बताए ।
सरकारले संसद्को निश्चित अवधि, विषयवस्तुको बारेमा सांसदहरूलाई जानकारी दिए सरकारले ल्याउने विधेयकहरूमा सांसदहरूको पनि पूर्ण ध्यान केन्द्रित हुने महतको भनाइ छ ।
उनले वर्तमान सरकारले १ दिन संसद् बोलाउने र लामो समयसम्म संसद् बैठक नबोलाउँदा सांसदहरू गृह जिल्लातर्फ जाने र संसद्मा ध्यान केन्द्रित नहुने गरेको बताए ।
‘फाट्टफुट्ट संसद् बस्छ, बल्ल दुइटा विधेयक पेस भएको अवस्था छ,’ उनले भने, ‘संसद्का समितिहरू पनि अहिलेसम्म बन्न सकेका छैनन् । संसद्को गरिमा, औचित्य, जिम्मेवारी पूरा गर्ने काममा समस्या आएको छ ।’
सांसद डा. महतले सरकारले संसद्लाई बिजनेस दिन नसक्दा संसदीय उपलब्धि धेरै हुन नसकेको बताए । राजनीतिक दलको दाउपेचले संसद् छायामा पर्दै गएको उनको भनाइ छ ।
संघीय संसद्को यो अधिवेशनलगत्तै बजेट अधिवेशन पनि सम्मुखमा छ । संसद्मा रहेका राजनीतिक दलहरू अहिले कसलाई राष्ट्रपति बनाउने भन्ने कसरतमा लागेका छन् । यसैले फागुन २५ गतेसम्म त्यसै रस्साकसीमा समय जानेछ ।
त्यसको परिणामले अहिलेको सरकारको भविष्य निर्धारण गर्ने भएकाले पनि सरकारले संसद्लाई बिजनेस दिन नसकेको हो ।
वैशाख अन्तिम साताबाट बजेट अधिवेशन सुरु हुने हुँदा आगामी चैतभरको समय अघिल्लो कार्यकालमा निष्क्रिय भएका विधेयक जगाएर प्रक्रिया अघि बढाउन समय अपर्याप्त हुने देखिन्छ ।