पशु कार्यालयमा भवन अभाव
जाजरकोट –पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटको भवन अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको छ ।
दैनिक १० देखि १५ सेवाग्राही आउने पशु अस्पतालमा भवन अभाव हुँदा सेवा प्रवाहमा समस्या हुने गरेको कार्यालय प्रमुख कलम बहादुर महताराले बताए ।
सदरमुकामस्थित थाप्लेमा कार्यालयको नाममा ७ रोपनी जमिन छ । जमिनमा पाँच वटा भवन छन् । अरू सबै सशस्त्र प्रहरीले प्रयोग गरेपछि बाँकी रहेको एउटा भवनमा गुम्सिएर बस्नु परेको कार्यालय प्रमुख महताराले बताए ।
संघीय संरचना अन्तर्गत कार्यालयहरूको पुनर्संरचना गर्ने क्रममा २०७४ सालमा जिल्ला पशु सेवा कार्यालय जाजरकोट खारेज गरेर पश्चिम रुकुमस्थित पशुपक्षी विज्ञ केन्द्रमा गाभिएको थियो । तर सम्पर्क कार्यालयको नाममा केही कामकाज सोही कार्यालयबाट भइरहेको थियो ।
२०७४ सालमा सरकारले जाजरकोटमा सशस्त्र प्रहरी बलको गुल्म स्थापना गर्ने निर्णय ग¥यो । केही समय जिल्लाका अन्य ठाउँमा बसे पनि उपयुक्त ठाउँ नपाएको सशस्त्रलाई तत्कालीन जिल्ला सुरक्षा समिति र राजनीतिक दलको सहमतिमा तत्कालीन जिल्ला पशु सेवा कार्यालयमा बसाल्ने निर्णय गरिएपछि २०७६ असारदेखि सशस्त्र प्रहरी बस्न थालेको हो ।
पुनः पशुपक्षीसम्बन्धी कार्यालय जिल्लामा रहनुपर्ने आवाज उठेको र प्रदेश सरकारले समेत आवश्यकता महसुस गरेपछि पशु चिकित्सकको दरबन्दीसहित पशु अस्पताल तथा पशु सेवा कार्यालय स्थापना गर्ने निर्णय गरिएको थियो । त्यस निर्णयपछि २०७६ साल साउनदेखि नै कार्यालय सञ्चालनमा आएको हो ।
‘सुरक्षा पोष्ट बाहिर र भित्र कार्यालय भएकोले सेवाग्राही र कार्यालयका कर्मचारी दुवैलाई समस्या भइरहेको छ । पशु चौपायाको उपचार बाटोमै गर्ने गरेका छौँ’, प्रमुख महताराले बताए ।
सशस्त्र प्रहरी गुल्मका प्रमुख डिएसपी लालसिंह विष्टका अनुसार गुल्मका लागि भेरी नगरपालिका–४ पाखेदहमा जग्गा हेरि फाइल सम्बन्धित निकायमा पठाइसकेको र अबको १ बर्ष भित्र समस्याको समाधान हुने बताए ।