नेभिगेशन
समाज विविध

गाउँपालिकाको स्वामित्वमा आयो पाथिभरा मन्दिर

इलाम –इलामको रोङ गाउँपालिकास्थित पाथिभरा मन्दिर गाउँपालिकाको स्वामित्वमा आएको छ । हासपोखरीस्थित कुट्टीडाँडामा अवस्थित पाथीभरा मन्दिरको संरक्षण र प्रवद्र्धनको जिम्मा गाउँपालिकामा आएको हो । 

पालिकाले नयाँ समिति बनाएर व्यवस्थापनको जिम्मा लगाएको छ । उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनको उपस्थितिमा गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले दिलीप राईको अध्यक्षतामा समिति गठन गरी व्यवस्थापनको जिम्मा लगाइएको हो ।

गाउँपालिकाले बनाएको समितिले काम सुरु गरिसकेको छ । मन्दिरको विकास, प्रवर्द्धनलगायत काम गर्ने गरी जिम्मेवारी हस्तान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बोले जानकारी दिए ।

छुट्टै संस्थाको मातहतमा रहेको उक्त मन्दिरको सञ्चालन तथा व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी अब गाउँपालिकामा रहने गरी ल्याउन लामो समयदेखि पहल भइरहेको थियो ।

गाउँपालिकाले पाथीभरा संरक्षण तथा व्यवस्थापन ऐन, २०७९ तयार गरी गाउँसभाबाट ११ माघमा पारित गरेको थियो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ अनुसार कार्यविधि बनाएर जैविक विविधता तथा धार्मिक क्षेत्रको संरक्षण गर्ने गरी उक्त मन्दिर गाउँपालिकाको स्वामित्वमा ल्याएको हो । 

बर्सेनि ५ लाख भक्तजन भित्र्याएर १ करोड रुपैयाँभन्दा बढी आम्दानी गर्ने लक्ष्य गाउँपालिकाको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध