लोक तथा दोहोरी गीत प्रतिष्ठानको महाधिवेशन धादिङमा
काठमाडौँ– राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौँ महाधिवेशन आगामी फागुन १२ देखि १४ गतेसम्म हुने भएको छ ।
प्रतिष्ठानले मंगलबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी आठौँ महाधिवेशन एवं २२औँ साधरणसभा धादिङ जिल्लाको धादिङबेँसीमा हुने जानकारी गराएको हो ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले प्रतिष्ठानको विकास र व्यवस्थापनमा धेरै योजना भए पनि कोरोना महामारीका कारण कार्यकालमा सोचेझैँ काम गर्न नसकिएको बताए । उनले कलाकर्मीलाई कोरोना महामारीको कहर एकदमै कष्टकर भएको पनि बताए ।
धादिङ कला र संस्कृतिको उर्बर भूमि भएकाले पनि यस पटकको महाधिवेशन धादिङबेँसीमा गर्न लागिएको उनले जानकारी दिए ।
महाधिवेशनमा ७२ जिल्ला स्तरीय समिति, ६ प्रदेश स्तरीय समिति, आजीवन सदस्य, मानार्थ सदस्य र केन्द्रीय समितिसहितका सबै प्रतिनिधि गरी १ हजार जनाभन्दा बढीको उपस्थिति रहने बताइएको छ ।