नेभिगेशन
समाज विविध

चौधरी फाउन्डेसन र चिसापानी अस्पतालबीच सम्झौता

काठमाडौँ –चौधरी फाउन्डेसन र चिसापानी अस्पतालबीच अस्पतालको सेवा सुदृढीकरण र स्तरोन्नति गर्नेबारे सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

नवलपरासी (पश्चिम) जिल्लाको बर्दघाट नगरपालिका –२ मा रहेको चिसापानी अस्पताललाई विशेषज्ञ सेवासहितको अस्पतालका रूपमा विस्तार गर्न दुईपक्षवीच मंगलबार सम्झौता भएको हो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद विनोद चौधरीले निर्वाचनका बेला चिसापानी अस्पताललाई विशेषज्ञ सेवा सुविधासहितको अस्पतालका रूपमा विकास गर्ने प्रतिवद्धता जनाएका थिए । चुनावी प्रतिबद्धताअनुसार अस्पताललाई नवलपरासी जिल्लाकै सुविधासम्पन्न अस्पतालका रुपमा विकास गर्न लागिएको हो । चौधरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । 

फाउन्डेसन र अस्पतालबीच भएको सम्झौताअनुसार अस्पतालमा सहज र झन्झटमुक्त आपत्कालीन र अन्य सेवाहरू सुनिश्चित गरिनेछ । 

७ वटा क्षेत्रमा अस्पतालको स्तरोन्नतिका काम हुनेछन्, जसबाट बिरामीहरूले स्थानीय तहमै भरपर्दाे स्वास्थ्य सेवा पाउनेछन् । अस्पतालमा २४ सै घण्टा ल्याब सुविधा उपलब्ध हुने, शल्यक्रिया सेवासहितको बर्थिङ सेन्टर स्थापना गरिन् र २४ सैं घन्टा आपतकालीन सेवाहरूको सुनिश्चितता गरिने सम्झौता पत्रमा उल्लेख छ । 

यसैगरि ओपीडी दर्ताका लागि टोकन प्रणाली लागू गर्ने, आर्टिफिसियल लिम्ब (कृत्रिम हातखुट्टा) सेवा उपलब्ध गराउने र आगामी ४ वर्षभित्र अस्पताललाई आत्मनिर्भर बनाउने दुई पक्षबीच समझदारी भएको छ । 

सम्झौताअनुसार अस्पतालमा स्त्री रोग विशेषज्ञ, सर्जन, प्रोस्थेटिस्ट, सामान्य सेवा विशेषज्ञ लगायतको सेवा उपलब्ध हुनेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध