कम्बोडियाले शान्ति सेनामा नयाँ फौज पठायो
नोमपेन– कम्बोडियाले सेन्ट्रल अफ्रिकन रिपब्लिक (सिआर) मा ९८ शान्ति सैनिकको नयाँ फौज पठाएको छ । युद्धग्रस्त सिएआरमा शान्ति स्थापना गर्ने संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा १० महिलासहित ९८ शान्ति सैनिकको नयाँ समूह पठाइएको सरकारी अधिकारीहरूले बताएका छन् ।
सैनिकहरूको बिदाइ समारोहमा बोल्दै नेसनल सेन्टर फर पिसकिपिङ फोर्सका महानिर्देशक जनरल सेम सोभानीले सिएआरमा सेनाले एक वर्षको कार्यादेश पूरा गरेको तथा नयाँ फौजले आठौँ समूहलाई प्रतिस्थापन गर्ने बताए । सिएआरमा देशको फौज परिचालनले द्वन्द्वग्रस्त देशहरूमा शान्ति र स्थिरता कायम गर्ने कम्बोडियाको निरन्तर योगदानमा संयुक्त राष्ट्रसंघप्रतिको विश्वासलाई झल्काएको उनले बताए । उनले कम्बोडियाली शान्ति सैनिकले वारुदी सुरुङ र विस्फोटक हतियार व्यवस्थापनमा काम गर्ने जानकारी पनि दिए ।
दक्षिणपूर्वी एसियाली राष्ट्र कम्बोडियाले पहिलो पटक सन् २००६ मा राष्ट्रसंघीय शान्ति सेनामा आफ्नो फौज पठाएको थियो । कम्बोडियाले हालसम्म लेबनान, माली, साइप्रस र यमन सुडान, दक्षिण सुडान, सिरियामा मिसनमा छ सय ८१ महिलासहित आठ हजार आठ सय ५९ शान्ति सैनिक परिचालन गरेको छ ।
कम्बोडियाका लागि संयुक्त राष्ट्रसंघका आवासीय संयोजक जोसेफ स्च्युरले विश्व शान्ति र सुरक्षामा योगदान गर्न कम्बोडियासहित अन्य देशले फौज परिचालन गरेकामा ती देशप्रति आभार व्यक्त गर्दै शान्ति सेनाको साहस र समर्पणको प्रशंसा गरे । उनले विष्फोट पदार्थको समुचित व्यवस्थापनमा कम्बोडियाली सेनाको विशेषज्ञता सिएआरमा महत्वपूर्ण हुने बताए ।