नेभिगेशन
समाज विविध

निसीखोलाबासी स्वास्थ्य बिमाबाट वञ्चित

बागलुङ– बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाले स्वास्थ्य बिमाबापतको रकम समयमा भुक्तानी नगर्दा सर्वसाधारण बिमा सुविधाबाट वञ्चित भएका छन् ।

सबै नागरिकलाई स्वास्थ्य बिमामा सहभागी गराउन गाउँपालिकाले बिमाबापतको रकम समयमै भुक्तानी नदिँदा बिमा कार्यान्वयनमा नआएको हो । बिमाका लागि फाराम भरेर बसेका निसीखोलावासी बिमा सुविधा उपभोगबाट भने वञ्चित छन् । 

गाउँपालिकाले पहिलो चरणको ६४ लाख रुपैयाँ बिमा रकम भुक्तानी गर्न नसक्दा स्वास्थ्य बिमाको काम अघि बढ्न सकेको छैन ।

गत असारमा सम्पन्न दसौँ गाउँसभाले पालिकाका नागरिकको निःशुल्क स्वास्थ्य बिमा गर्ने घोषणा गरेको थियो । ५ हजार ४०० घरधुरीका लागि निःशुल्क बिमा गर्न राजस्व बाडफाँडबाट २ करोड बजेट विनियोजन गरेको थियोे ।

स्वास्थ्य बिमाका लागि पालिकाले पहिलो चरणमा ९ हजार १८५ जनाको विवरण संकलन गरिसकेको छ । विवरण संकलन भएका नागरिकले फागुन १ गतेदेखि सेवा लिनुपर्नेमा बिमाको रकम भुक्तानी नहुँदा कार्यान्वयनमा ढिलाइ भएको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले बताए ।

संघ, प्रदेश र पालिकाको आन्तरिक स्रोतको राजस्व बाँडफाँटबाट बिमा गर्ने निर्णय गाउँसभाले पारित गरेको थियो । भुक्तानी भएको ३ महिनाबाट नागरिकले स्वास्थ्य बिमाको सेवा लिन पाउँछन् ।

प्रदेश र संघबाट आउने राजस्व बाँडफाँट शीर्षकमा बजेट राखिएकामा बजेट प्राप्त नहुँदा कार्यान्वयनमा समस्या भएको गौतमको भनाइ छ ।

गाउँपालिकाले असोज, कात्तिक र मङ्सिरमा रकम भुक्तानी गरेको भए फागुन १ गतेदेखि नागरिकले बिमाको सेवा लिन पाउने थिए ।

पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिलीपकुमार चन्दले पहिलो चरणमा परिवारको विवरण आए पनि विशेष विवरण नआएको प्रतिक्रिया दिए । 

‘प्रदेश र संघीय सरकारबाट थोरै बजेट प्राप्त हुँदा योजनामा बाँडफाँट गर्न गाह्रो भयो, एक हप्तामा राजस्व बजेट हेरेर भुक्तानी गर्छौं,’ चन्दले भने । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा