नेभिगेशन
समाज विविध

समस्यामा दार्चुलाका वादी समुदाय

दार्चुला– यहाँका वादी समुदायको आफ्नो स्वामित्वमा जग्गा नहुँदा दयनीय अवस्था बनेको छ ।

आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपमा पछि परेका उनीहरूको अवस्था दयनीय बनेको हो । 

शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरको चमेलिया नदी किनारमै बस्दै आएका उनीहरूको आफ्नो नाममा जमिन नहुँदा अहिले समस्या परेको हो ।

वर्षौैंदेखि अरूकै जमिनमा घर बनाएर भोगचलन गर्दै आएका उनीहरूलाई अहिले घर छाड्न भनेपछि समस्या परेको बताइएको छ । 

‘पहिले बगर थियो, बाउबाजे यहीँ बस्थे, अहिले बजारीकरण हुँदै गएपछि मालिकले जमिन खाली गर्न भनेपछि निकै समस्यामा परेका छौँ,’ स्थानीय पुष्पा दमाईंले भनिन्, ‘आफ्नो भूमि छैन, अर्काकै भूमिमा बस्दै आएकामा जमिन खाली गर्न भनेपछि कहाँ जाने के गर्ने भन्ने दोधारमा छौँ ।’

चमेलिया किनारमा बालुवा निकाल्दै र गिट्टी कुट्दै जीविका चलाएको उनी बताउँछिन् । ‘मालिकले घर जमिन छाड्न भनेपछि कहाँ जान्ने चिन्ताले पिरोलेको छ, घर बनाऊँ जमिन छैन, काम गर्न पनि अहिले पहिलेको जस्तो छैन,’ स्थानीय मुकुट वादीले भने, ‘वादी समुदायको समस्याबारे बुझिदिने कोही छैनन् ।’ 

झन्डै ५०/६० परिवार यही बगरमा बस्दै आएको उनले जानकारी दिए । उनका अनुसार थोरैसँग मात्र आफ्नो घर छ । घर भएकाहरूको पनि आफ्नो नाममा स्वामित्व छैन । अहिले घर छाड्न भनेपछि केहीले भाडाको घरमा बस्न थालेका छन् । 

‘विगतमा माछा मारेर र भारी बोकेर परिवार चलाउँथ्यौँ,’ उनले भने, ‘अहिले नदीमा माछा छैन, चमेलिया खेलाभरि विद्युत् निकाल्न थालेपछि माछा लोप भए, करेन्ट लगाएर माछा मारियो, हाम्रो पेसा नै संकटमा परेको छ ।’

सडकको पहुँच विस्तारसँगै गोकुलेश्वर बजारमा भारी बोक्ने काम पनि पाउन छाडेको उनले बताए ।

‘बालुवा गिट्टी अलिअलि संकलन गरी बेचेर जीविका चलाउँछौँ,’ उनले भने, ‘काम गर्न सक्नेहरू मजदुरी गर्न भारततिर जान्छन्, यहाँ काम नपाएपछि अधिकांश युवा गाउँमा छैनन् । यहाँ रोजगार पाउन सकिँदैन, गाउँभरि सबै बेरोजगार भए, केटाकेटीहरू यही ढुंगागिट्टी कुटेर जीविका चलाउँछन् ।’

वादी समुदायका लागि शौचालय र खानेपानीको व्यवस्था नरहेको उनी बताउँछन् । अहिले पनि उनीहरू नदी किनारमा गएर शौच गर्न बाध्य छन् । गाउँभरिका लागि एक/दुई खानेपानीका धारा छन् । त्यो पनि स्थानीय व्यापारीले पाइप दिएर व्यवस्थापन गरिदिएका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा