नेभिगेशन
समाज विविध

तेस्रो चिचिरी गेन्द्रो तथा धिमाल संस्कृति प्रदर्शनी शनिबार

विराटनगर– धिमाल जातिको मौलिक खाना संस्कृतिको प्रचारप्रसार र प्रवद्र्धनका लागि मोरङको बेलबारीमा तेस्रो चिचिरी गेन्द्रो दिवस तथा धिमाल संस्कृति प्रदर्शनी हुने भएको छ ।

‘संस्कृति, मौलिकता र स्वस्थ खाना’ भन्ने नाराका साथ फागुन १३ गते शनिबार तेस्रो चिचिरी गेन्द्रो दिवस तथा धिमाल संस्कृति प्रदर्शनी आयोजना गर्न लागिएको हो ।

धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिको आयोजनामा बेलबारी–३ स्थित ड्रिमल्यान्ड फन पार्कमा हुने कार्यक्रमका लागि करिब ५ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

प्रदर्शनीमा २ हजारभन्दा बढी दर्शकको सहभागिता रहने आयोजकले अनुमान गरेको छ ।

प्रदर्शनीअन्तर्गत धिमाल परिकार स्टलमा धिमाल जातिको मौलिक खाना चिचिरी, गेन्द्रो, तोले, चुदुर (घुँगी), पायाको बिहा (सुँगुरको मासु), गोरा (रक्सी), हाया (माछा) लगायत परिकार उपलब्ध हुनेछन् ।

सो अवसरमा धिमाल कलाकारहरूबाट सांस्कृतिक तथा सांगीतिक कार्यक्रमसमेत हुनेछ ।

गायिका मेचु धिमाल, गायकहरू डिकबहादुर धिमाल, सञ्जीव धिमाल, सुरेश धिमाल, राजेश धिमाल, हास्य कलाकार विक्रम धिमाल र डान्सर सरस्वती धिमाललगायतले प्रस्तुति दिनेछन् ।

प्रदर्शनीमा गरगहना, पुस्तक, तान बुन्ने, धिमाल समुदायले उत्पादन गर्ने पेटानीलगायत सामग्री तथा वाद्यवादन समेत प्रदर्शनी हुनेछ ।

यसअघि पहिलो र दोस्रो प्रदर्शनी दमक र उर्लाबारीमा भएको थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा