सरकारी कामकाजमा मातृभाषा प्रयोग गरिनुपर्ने माग
काठमाडौँ– विभिन्न मातृभाषालाई सरकारी काम काजमा ल्याउनुपर्नेमा जोड दिइएको छ ।
अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा आज भाषा आयोगले गरेको कार्यक्रमका वक्ताले स्थानीय सरकारले वडा तहसम्म फरक फरक मातृभाषाको प्रयोग गर्न सक्नेमा जोड दिइएको हो ।
कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष उषा हमालले मातृभाषाको संरक्षण कसरी गर्ने भन्नेमा काम भइरहेको बताइन् । सो अवसरमा आयोगका सदस्य अमृत योञ्जनले मातृभाषाको औचित्यका बारेमा प्रकाश पारेका थिए । आयोगका सचिव जयराम अधिकारीले आयोगले गरिरहेको कामका बारेमा प्रस्तुति गरेका थिए ।
आयोगका पूर्वअध्यक्ष डा लवदेव अवस्थी, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दीपक शर्मालगायतले मातृभाषाको संरक्षणमा सरोकार भएका निकायका बीच समन्वय हुनुपर्नेमा जोड दिएका थिए ।
संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९९९ मा घोषणा गरी सन् २००० देखि फेब्रुअरी २१ तारिखका दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरिएको हो । नेपालमा भने विसं २०६६ देखि विशेषरूपमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरिएको हो ।
विश्वमा १५ दिनमा दुई वटा भाषा लोप हुने गरेको तथ्य अध्ययनबाट सार्वजनिक भएको छ ।
मातृभाषा लोप हुन नदिन सरोकार भएका निकायले काम गर्नुपर्नेमा जोड दिँदै आइएको छ । यस अवसरमा संयुक्त राष्ट्र सङ्घीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले मातृभाषाको संरक्षणका लागि विभिन्न काम गर्दै आएको छ ।
कार्यक्रममा नेपालमा एक हजारभन्दा कम वक्ता रहेका ३७ भाषामध्ये २३ भाषा सङ्कटापन्न अवस्थामा पुगेको जानकारी गराइएको थियो । ती भाषाको संरक्षणमा काम गर्नुपर्नेमा पनि जोड दिइएको थियो । दिवसको यस वर्षको नारा ‘शिक्षामा रूपान्तरणका लागि बहुभाषिक शिक्षाको आवश्यकता’ रहेको छ ।