शालिक र नाम फेर्दा पनि किन बद्नाम छ ‘रत्नपार्क’ ?
काठमाडौँ– ‘निको लाग्यो, उपचारका लागि आयाकी हुँ, अस्पतालौनो सिकसिको लाग्यो, ह्याँ बस्न्या ठाउँ निको छ भन्या लाग्यो र आयाकी हुँ’ (ठाउँ राम्रो छ । उपचारका लागि आएकी हुँ, अस्पताल फोहोर भएपछि यो ठाउँ ठिक देखेर आएँ) जुम्लाकी नामसरी रोकायाको भनाइ हो यो ।
काठमाडौँको मुटुमा रहेको रत्नपार्कभित्र रहेकी उनी वीर अस्पताल फोहोर भएर बस्न यहाँ आएको सुनाउँछिन् ।
उनलाई लागेजस्तो रत्नपार्क जीवनका ७९ वसन्त कटाएका उदयपुरका एक जेष्ठ नागरिकलाई भने लाग्दैन ।
छोरा–बुहारी सरकारी जागिरे भएका कारण काठमाडौँ आइरहन्छन् उनी । अहिले त मुटुमा सामान्य समस्या भएका कारण वीर अस्पतालमा डाक्टरलाई देखाउन पनि आएका थिए ।
रत्नपार्कको बारेमा बाहिर सुनिने हल्लाका कारण उनी रत्नपार्कमा छु भन्न रुचाउँदैनन् ।
उनी काठमाडौँ आउँदा रत्नपार्क पुग्छन् । कारण दिनभरि घरमा बस्ने साथी हुँदैनन् । ३० को दशकमा नेपाल आर्मीबाट अवकाश पाएका उनी बुढेसकालसम्म पनि रत्नपार्कमा छु भनेर खुल्न सक्दैनन् ।
प्रतिनिधि पात्रका रूपमा नामसरी र ती जेष्ठ नागरिक भए पनि धेरैले रत्नपार्कलाई समय व्यतीत गर्ने ठाउँको रूपमा लिएका छन् ।
काठमाडौँकै विभिन्न कलेजको ड्रेसमा रत्नपार्कभित्र थुप्रै विद्यार्थी देखिन्छन् । कोही पढिरहेका छन् भने कति प्रेमिल बसाइमा छन् ।
कतिले ‘क्यामेराले तस्बिर कैद गरिरहेको छ, देखिन हुँदैन’ को व्यवहार गर्छन् । कतिलाई वरपर भएका कुनै पनि गतिविधिसँग मतलब छैन ।
तत्कालीन रानी रत्नराज्यलक्ष्मी देवी शाहको योजनामा पार्कको निर्माण भएको हो । रानीपोखरी र खुलामञ्चको बीचमा रहेको रत्नपार्कले २०६२/६३ को जनआन्दोलनलाई समेत आश्रय दिएको छ ।
२०६२/६३ सालको जनआन्दोलनका बेला आन्दोलनकारीहरू रत्नपार्कमा भेला भएर आन्दोलन सुरु गर्थे ।
रानीको योजनामा बनेको पार्क भएका कारण रत्नकै शालिक थियो । २०६२/६२ को जनआन्दोलनले उनको शालिक पनि ढाल्यो ।
गणतन्त्र आउनुभन्दा पहिला रानी रत्नको शालिक भएको ठाउँमा शंखधर साख्वाको शालिक बनाइएको छ ।
रानी रत्न राज्यलक्ष्मीको योजनाअनुरूप राजा महेन्द्रले बच्चाहरूका लागि भनेर तयार पार्न लगाएको यो पार्क २०१८ सालदेखि निर्माण सुरु गरेर २०२१ सालमा सम्पन्न भएको थियो ।
केही समय अस्तव्यस्त अवस्थामा रहेको रत्नपार्क काठमाडौँ महानगरपालिकाले २०७७ मा पुनर्निर्माण गर्यो ।
गणतन्त्र आएपछि पार्कको नाम पनि परिवर्तन भएको छ । महानगरले नै पार्कभित्र शंखधर साख्वाः को शालिक राख्नुका साथै पार्कको नाम शंखधर उद्यान राखेको छ ।
नेपालकै पुरानो अस्पताल वीरमा उपचारका लागि आएका बिमारीका कुरुवाका लागि दिन कटाउन गाह्रो हुन्छ । उनीहरू रत्नपार्कभित्र आउँछन् र दिन बिताउँछन् ।
टाढाबाट बिरामी लिएर काठमाडौँ आएकाहरू रातभरि अस्पतालमा बिरामी कुर्छन् । दिउँसो भएपछि रत्नपार्क आएर लगाएको चप्पल खोल्छन्, छेउमै राख्छन्, झोलाको सिरानी बनाउँछन् र घाम ताप्दै सुत्छन् ।
तर, जो जसरी बसे पनि रत्नपार्कमा छु भन्न लजाउँछन् । सरकारी जागिरे छोरा–बुहारीसँग काठमाडौँमै बस्ने गरेका उदयपुरका जेष्ठ नागरिकलाई पनि रत्नपार्कमा बसेको छु भन्न लाज लाग्छ ।
‘रत्नपार्कमा छु भन्दा लाज लाग्छ बाबु ! काठमाडौँ आउँदा दिउँसो घरमा बस्ने कोही हुँदैनन्, साथीभाइ पनि छैनन् । दिनभर घरमा समय कटाउन समस्या हुन्छ र यहाँ आउँछु । दिनभरि यही रूखको छहारीमा निदाउँछु । १ बोतल पानी पिएपछि घर फर्किन्छु,’ ती जेष्ठ नागरिकले सिएन नेपालसँग भने ।
ठ्याक्कै यस्तै अवस्थामा छन् धादिङका अर्का जेष्ठ नागरिक पनि ।
घरमा बस्दा पनि एक्लो महसुस गर्छन् उनी । छोराबुहारीले दिएको खानेकुरा खाएपछि टहलिन रत्नपार्क पुग्छन् ।
उनका छोराबुहारीको महाबौद्धभित्र पसल छ । बसाइ मैतीदेवी । छोराबुहारीको पसलसम्म हिँडेका उनी रत्नपार्कमा थकाइ मार्छन् ।
तर, रत्नपार्कमा छु भन्ने आँट उनलाई पनि आउँदैन । दिनभरि रत्नपार्कमा बसेका उनी खुलेर रत्नपार्कमा बस्न गएँ भनेर कसैलाई सुनाउन सक्दैनन् ।
सिन्धुपाल्चोककी ममता तामाङ न्युरोडको एक पसलमा काम गर्छिन् । परिवारसँग भक्तपुरमा बस्ने उनी रहेक दिन रत्नपार्कको बाटो ओहोरदोहोर गर्नुपर्छ ।
तर, हतारहतार गरेर उनी त्यो बाटो पार गर्छिन् । रत्नपार्कभित्र जाने विषय सोध्यो भने पनि रिस उठ्छ उनलाई ।
‘बागबजारसम्म गाडी आउने भएकाले बाध्य भएर हिँड्नुपर्छ, नत्र यो बाटो हिँड्छु भन्न पनि लाज लाग्छ, तपाईँले कुरा नबुझाएको भए चप्पल खानुहुथ्यो,’ उनी भन्छिन् ।
ममता रत्नपार्कभित्र गएर बस्नुहुन्छ ? भनेको सुन्नसमेत चाहन्नन् ।
हरेकले रत्नपार्कमा छु नभन्नुको पछाडि रत्नपार्कको नाम ‘बद्नाम’ भएको ममताको बुझाइ छ । गाउँमा हुँदा पनि रत्नपार्कको बारेमा नराम्रो सुनेको उनको अनुभव छ ।
रत्नपार्कमा दिनको केही घन्टाको बसाइले व्यक्तिअनुसारको प्रयोग भइरहेको पनि देखिएको उदयपुरका ती जेष्ठ नागरिक बताउँछन् ।
‘यहाँ बसेर सबैतिर हेरौँ त ! ऊ त्यहाँ पढिरहेको देखिन्छ, त्यहाँ आराम गरिरहेका पनि छन्, कतिपयले मुखमा मुख जोडिरहेका पनि देखिन्छन्, व्यक्ति अनुसारको प्रयोग गर्ने ठाउँ पनि हो यो,’ उनले हाँस्दै भने ।
रत्नपार्कको बार : यौनको व्यापार
रत्नपार्कको घेराभित्र बसेकाहरूभन्दा बाहिर उभिनेहरूलाई अझ गाह्रो छ । काठमाडौँका विभिन्न ठाउँमा जानका लागि सार्वजनिक गाडी लाग्ने ठाउँ पनि हो रत्नपार्क ।
वीर अस्पतालअगाडिको पीपलको रुखबाट सुरु भएर बागबजार जाने आकासे पुलको एक छेउसम्म गाडीमा चड्ने र ओर्लिनेहरू भेटिन्छन् ।
तर, त्यही हुलभित्र रत्नपार्कको बारलाई आधार बनाएर बसेका हुन्छन् यौनकर्मीहरू । तिनै यौनकर्मीहरूका कारण रत्नपार्कमा बसेको छु भन्न धेरैलाई अप्ठ्यारो लाग्छ ।
बागबजार जाने आकासे पुलबाट विद्युत् प्राधिकरणअगाडिको आकासे पुल, त्योबाट मुख्य ट्रमा सेन्टर निस्किने बाटो हुँदै रत्नपार्कको घेरबारमा टाँसिएर बसेका केही थान यौनकर्मीका कारण रत्नपार्कलाई गलत नजरले हेर्ने गरिएको स्थानीय व्यापारीहरू बताउँछन् ।
आकासे पुलको मुनि व्यापार गरेका उनीहरू आफूलाई पनि त्यस्तै नजरले हेर्ने गरिएको बताउँछन् ।