राष्ट्रपतिबारे दलभित्रै राष्ट्रिय सहमति आवश्यक छ : शक्ति बस्नेत
काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा सांसद शक्ति बस्नेतले राष्ट्रपतिका लागि राजनीतिक दलभन्दा बाहिर गएर सहमति खोज्नु नहुने बताएका छन् ।
बुधवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उपमहासचिव बस्नेतले राजनीतिक दलभन्दा बाहिर गएर भने सहमति खोज्नु नहुने बताएका हुन् ।
उनले राष्ट्रपतिको सन्दर्भमा राष्ट्रिय सहमति आवश्यक रहेको समेत बताए ।
पुस १० गते सरकार बन्दाको अवस्था र आजको अवस्थामा फेरबदल आइसकेको भन्दै उनले बदलिँदो परिस्थितिले सहमतिको माग गरेको बताए । देशमा देखिएका चुनौतिहरुको समाधानका लागि पनि राष्ट्रिय सहमति आवश्यक रहेको उनको भनाई छ ।
‘राष्ट्रिय सहमति जहाँनिर जुट्छ, त्यहीँनिर गरौँ भनेको हो । तर दलभन्दा बाहिर नजाऔँ अहिले । स्पष्ट कुरा यो हो । राष्ट्रिय सहमति आजको आवश्यकता हो । पुस १० गतेदेखि आजसम्म घटनाक्रममा तलमाथि परेको छ, सरकारलाई समर्थनसहित विपक्षमा बसेको एउटा अवस्था । सरकारमा सहभागि भएका पार्टीहरु सरकार बाहिर बसेर समर्थन मात्र गरेको अवस्था । परिस्थितिमा फेरबदल भइराखेको छ । यो परिस्थितिमा आएको फेरबदलले सहमतिको माग गर्यो’, उनले भने ।
उनले राष्ट्रिय सहमतिको आवश्यकताको सबैले बोध गरेमा सम्भव हुने बताए । राष्ट्रपतिका लागि राष्ट्रिय सहमति जुट्न नसकेमा अधिकतम सहमतिको बाटोमा जाने उनले उल्लेख गरे ।