बेलबारीमा प्रदेश प्रहरी अस्पताल शुभारम्भ
सुन्दरहरैँचा– मोरङको बेलबारी–३ मा बुधबार १ नं प्रदेश प्रहरी अस्पतालको प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले उद्घाटन गरे । तत्कालको आवश्यकता पूरा गर्ने गरी १५ शय्याको अस्पताल उद्घाटन तथा शुभारम्भ गरिएको हो ।
महानिरीक्षक सिंहले १ नं प्रदेशमा प्रहरी तथा भूतपूर्व प्रहरीको सङ्ख्या ठूलो रहेकाले प्रहरी अस्पताल सञ्चालन गरिएको बताए । उनले नाम प्रहरी अस्पताल भए पनि प्रहरीका अतिरिक्त सर्वसाधारण नागरिकले पनि सेवा पाउने उल्लेख गर्नुभयो । अस्पतालको शुभारम्भले प्रदेशमा रहेका पूर्वप्रहरी कर्मचारी, अशक्त तथा बहालवाला प्रहरी कर्मचारी र आश्रित परिवारसमेतको स्वास्थ्य सेवामा पहुँच पुग्ने उद्देश्यले प्रदेश प्रहरी अस्पताल सञ्चालनमा ल्याइएको हो भने ।
कार्यक्रममा प्रदेश अस्पतालसम्बन्धी प्रतिवेदन डा सरोज सिंहले प्रस्तुत गरेका थिए । उनले अस्पतालमा तत्कालका लागि प्रयोगशाला, एक्सरे तथा आकस्मिक सेवा उपलब्ध गराउनुका साथै अस्पतालमा ११ जना जनशक्ति रहने उल्लेख गरे ।
बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईले बेलबारीलाई प्राथमिकतामा राखेर अस्पताल शुभारम्भ गरेकोमा प्रहरी अस्पतालको टिमप्रति विशेष आभार प्रकट गरे । नेपाल प्रहरी प्रदेश संरचनामा रुपान्तरण हुँदै गरेको तथा प्रदेशभरिका प्रहरी कर्मचारीको स्वास्थ्यलाई ध्यानमा राख्दै अस्पतालको स्थापना गरी सेवा सुरु गरिएको नेपाल प्रहरी अस्पताल महाराजगन्ज र काठमाडौँका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंहले जानकारी दिइन् ।