१५ जिल्लामा हात्तीपाइलेविरुद्ध औषधी खुवाउने अभियान सुरु
काठमाडौँ –१५ जिल्लामा बिहीबारबाट हात्तीपाइले रोग विरुद्धको औषधि अभियान भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हात्तीपाइले नियन्त्रण हुन नसकेका झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, बाँके, दाङ र कैलालीमा बिहीबारदेखि अभियान सुरु भएको हो ।
‘आम औषधी सेवा’ नाम दिएको यो अभियान फागुन १५ गतेसम्म चल्नेछ ।
प्रभावित १५ जिल्लामा स्वास्थ्यकर्मीहरूले वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, विद्यालय, सहकारी, धार्मिकस्थल आदिमा बुथ राखेर औषधि वितरण गर्नेछन् ।
हात्तीपाइलेविरुद्धको औषधिले शरीरमा यो रोग गराउने परजीवी भए नष्ट गर्छ । स्वास्थ्य मन्त्रालयका अनुसार २ वर्ष पूरा भएका सबैले हात्तीपाइलेविरुद्धको औषधि खानुपर्दछ । २ वर्षभन्दा मुनिका बालबालिका, गर्भवती ७ दिनसम्मका सुत्केरी, सिकिस्त बिरामीले यो औषधि खानु हुँदैन ।
नेपालले सन् २०२६ सम्ममा हात्तीपाइलेको संक्रमण दर १ प्रतिशतभन्दा कम गर्ने र २०३० सम्ममा निवारण गर्ने लक्ष्य लिएको छ । अहिले यो दर ४ प्रतिशतमा झरेको छ ।