कलिलै उमेरमा आमा बन्ने क्रम रोकिएन
चितवन –सरकारले ‘बिहेबारी २० वर्ष पारी’ भन्ने नारा कार्यान्वयनमा ल्याए पनि सानो उमेरमै आमा बन्ने क्रम रोकिएको छैन । स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा ३ हजार ६९ जना २० वर्षभन्दा कम उमेरका महिला आमा बनेका छन् ।
कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार उनीहरूमध्ये २ हजार ६६३ जनाले दक्ष प्रसूतिकर्मीबाट सेवा लिएका छन् भने ३८६ जनाले दक्ष स्वास्थ्यकर्मीबाट सेवा लिएका छन् ।
यस्तै अन्य स्वास्थ्यकर्मीबाट सेवा लिने १८ जना र २ जनाले घरमा नै नवजात शिशु जन्माएका हुन् । उनले भने, ‘यसै वर्षबाट यो तथ्याङ्क राखिएको हो । गत वर्षको तुलना गर्न सकिँदैन ।’ चालु आर्थिक वर्षको हालसम्म २० वर्ष माथिका ६ हजार ३८९ जनाले शिशु जन्माएको उनले बताए । उनीहरूमध्ये २ हजार १८६ जनाले दक्ष प्रसूतिकर्मीबाट, ४ हजार ७४३ जनाले दक्ष स्वास्थ्यकर्मीबाट, २१ जनाले अन्य स्वास्थ्यकर्मीबाट र ३९ जनाले घरमा नै बच्चा जन्माएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
उनका अनुसार जिल्लामा यसवर्षको हालसम्म १३९ शिशु मृतावस्थामा जन्मिएका थिए । यस्तै २३३ आमाले २ शिशु जन्माएका छन् । अघिल्लो आर्थिक वर्षमा २ हजार ७०५ जनाले २० वर्ष भन्दा कम उमेरमा पहिलो गर्भ जाँच गराएका थिए । तीमध्ये १६, २०, २४,३२ र ३६ हप्तामा १ हजार ४६ जनाले गर्भ परीक्षण गरेको कार्यालयको तथ्याङ्कले देखाएको छ । सोही समयमा २० वर्ष भन्दा माथिका १८ हजार ३३९ जनाले पहिलो पटक गर्भ परीक्षण गराएका थिए । भरतपुर अस्पतालका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रामप्रसाद सापकोटाका अनुसार कम उमेरमा नवजात जन्माउँदा आमा र शिशु दुबैको ज्यानको खतरा हुन्छ ।
कम उमेरमा शिशु जन्माउँदा आमा शारीरिक तथा मानसिक रुपमासमेत तयार भइसकेको नहुने भएकाले शिशुका स्वास्थ्यमा समस्या आउने सक्ने उनले बताए । उनका अनुसार सानो उमेरमा विवाह गरेर शिशु जन्माउने गर्दा पाठेघरमा समस्या आउने गर्छ । बढी सङ्ख्यामा ग्रामीण क्षेत्र र सीमान्तकृत समुदायमा यो समस्या रहेको उनको भनाइ छ ।