Nic Ad Nic Ad
Nic Ad Nic Ad

युवामाथि राष्ट्रकै आशा र भरोसा : प्रधानमन्त्री

बिहीबार, फागुन ११, २०७९

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवाहरूमाथि सिंगो राष्ट्रको आशा र भरोसा रहेको बताएका छन् । 

बिहीबार काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजित राष्ट्रिय सेवा दलको १७औँ ब्याच सिनियर डिभिजन तालिमको दीक्षान्त कवाजलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आजको अवस्थामा अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको र युवाहरूमाथि सिंगो राष्ट्रको आशा र भरोसा रहेको बताएका हुन् ।

सरकारको उच्च प्राथमिकतामा परेको यस कार्यक्रमले युवाहरूलाई मुलुकप्रति समर्पित र राज्यका संस्थाहरूप्रति सम्मान गर्ने संस्कारयुक्त नागरिक बनाउनुका साथै विपद्को समयमा परिचालन गर्न सकिने तालिमप्राप्त स्वयंसेवक जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले देशभित्र विद्यमान विविध भाषा, संस्कृति, वेशभूषा एवं विशेषताको जानकारीले युवाहरूलाई आफ्नो देशप्रतिको गौरव बढाउनुका साथै राष्ट्रि«य एकताको भावनामा थप प्रतिबद्धताको विकास हुने विश्वास व्यक्त गरे । 

राष्ट्रिय सेवा दलका प्रमुख संरक्षकसमेत रहेका प्रधानमन्त्री प्रचण्डले हाल विद्यमान ७ हजार ७०० को संख्या बढाएर आगामी दिनमा तालिममा सहभागीको संख्या विस्तार गर्नुपर्ने आवश्यकताप्रति सरकार गम्भीर रहेको धारणा राखे ।

दीक्षान्त समारोहमा विभिन्न कवाज, कला प्रस्तुत गरिएको थियो । युवाहरूको व्यक्तित्व विकास गर्ने उद्देश्यले २०२२ सालमा राष्ट्रिय सेवा दल स्थापना भएको थियो ।

यस वर्ष जुनियर डिभिजनअन्तर्गत ५ हजार ९७६ जना र सिनियर डिभिजन अन्तर्गत १ हजार ७२८ जना गरी कुल जम्मा ७ हजार ५६८ छात्रछात्राहरूले राष्ट्रिय सेवा दलको तालिम गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १३:२२
प्रतिक्रिया दिनुहोस्