Nic Ad Nic Ad
Nic Ad Nic Ad

उपत्यकामै फोन र नेटले काम गर्दैन : मन्त्री शर्मा

बिहीबार, फागुन ११, २०७९

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले फोरजी सेवा गुणस्तर बनाएर आवश्यक पूर्वाधारको निर्माणपछि मात्रै फाइभजी लागू गर्न उपयुक्त हुने बताएकी छिन् । 

बिहीबार प्रविधि पत्रकार मञ्चले काठमाडौँमा आयोजना गरेको ‘फाइभजीको चुनौती र आगामी बाटो’ अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताएकी हुन् । उनले मुलुकमा फाइभजी सेवा परीक्षण गर्दै गर्दा देशका धेरै स्थानमा समान्य सूचनाको पहुँच समेत पुग्न नसकेको अवस्था रहेको बताइन् । 

उनले फोरजी सेवा विस्तार भएको लामो समयसम्म काठमाडौँ उपत्यकामा समेत प्रभावकारी हुन नसकेको भन्दै फोरजी सेवालाई व्यवस्थित बनाउन आवश्यक रहेको बताइन् । 

मन्त्री शर्माले फोरजी सेवा लागू गर्दा लागेको लागतअनुसार प्रतिफल आए÷नआएको विषयमा अध्ययन गर्नुपर्ने पनि बताइन् । उनले विश्वमा आउने नयाँ प्रविधिमा अगाडि बढ्दै जाने र त्यसबाट हुने फाइदाको समीक्षा गर्न नसके लाभभन्दा नोक्सानी बढ्न सक्नेतर्फ सचेत हुन आवश्यक रहेको बताइन् । 

मन्त्री शर्माले नेपाल भौगोलिक रुपमा कठिन अवस्थामा रहेको भन्दै उच्च हिमाली जिल्लामा समान्य सूचनाको पहुँच नै नपुगेको स्वीकार गरिन् । 

उनले देशका धेरै भूभागमा इन्टरनेटको न्यूनतम सेवासमेत नपुगेको बताइन् । विभिन्न निकुञ्ज र जंगल क्षेत्रसमेत इन्टरनेट र फोनको पहुँच बाहिर रहेको भन्दै जंगलको बाटोमा यात्रा गर्दा जनावरको आक्रमण भए सूचना दिन फोन नलाग्ने र नेट नै नचल्ने समस्या रहेको उनको भनाइ छ ।

उनले सम्बन्धित निकायहरूलाई सबैभन्दा पहिले सबै भूभागमा टेलिकमको सामान्य सेवाको पहुँच पु¥याउन निर्देशन दिइन् । 

मन्त्री शर्माले उपत्यकाका धेरै स्थानमा समेत सामान्य सेवा नपुगेको र हाइवेका धेरै ठाउँमा फोन नलाग्ने, टावर नै नआउने अवस्था रहेको बताइन् । फाइभजीभन्दा अघि सरकारले ठुलो लगानी गरेर फोरजीको पूर्वाधार तयार गरे पनि त्यो लगानी खेर जाने स्थिति रहेको बताइन् । 

त्यस्तै, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले फाइभजी सेवा अपेक्षाअनुसार नभएर पनि परीक्षण सुरु भएको बताए । उनले सरकार, नियमन निकाय र आमउपभोक्ताहरूले सोचेको जस्तो नभएको गुनासो गरे । 

उनले फाइभ जी सेवा परीक्षणको दायरा बढाउन आग्रह गरे । खनालले फाइभजी प्रयोगकर्ताले परीक्षण गर्नु पनि परीक्षणको एउटा पाटो भएको बताए ।

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १४:२५
प्रतिक्रिया दिनुहोस्