Nic Ad Nic Ad
Nic Ad Nic Ad

नख्खु उकालो : पाइप व्यवस्थापनपछि कालोपत्र

बिहीबार, फागुन ११, २०७९

काठमाडौँ– नख्खु उकालोका क्षेत्रमा पुराना पाइप व्यवस्थापनपछि सडक कालोपत्र गरिने भएको छ । 

निर्माणका क्रममा पुराना जीर्ण पाइप भेटिएपछि केही महिनाअघि सडकको कालोपत्र अवरुद्ध बनेको थियो । अहिले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडसँग समन्वय गरेर पाइप सडकको किनारामा सार्न लागिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

नख्खुमा पाइप फुटेको ठाउँमा अहिले पाइपलाइनको स्थानान्तरण र मर्मत भइरहेको आयोजनाका प्रवक्ता महानन्द जोशीले बताए । उनले भने, ‘पाइपको काम सकिएपछि सडक कालोपत्र गरिनेछ ।’

निर्माण कम्पनीले सडक कालोपत्र गर्नका लागि आवश्यकपर्ने निर्माण सामग्री झारिसकेको छ । पहिले ‘सबबेस’ हाल्न लाग्दा सडकको बीच भागमा झन्डै सय वर्ष पुरानो पाइप फुटेको भेटिएको उनले बताए ।

अहिले झन्डै ८ सय मिटर लम्बाइको सडक खानेपानी पाइपका कारण कालोपत्र गर्न ढिलाइ भएको छ । यस क्षेत्रमा सडकको चौडाइ झन्डै १६ मिटर छ ।

भैँसेपाटी आवास क्षेत्र नजिकै समस्या रहेकाले पनि यहाँ भइरहको ढिलाइमा धेरैले चासो देखाएको पाइन्छ ।

उपत्यकाका धेरै सडकमा सयौँ वर्ष पुराना पाइप छन् । कहाँ कुन स्थानमा कति पुरानो पाइप छ भन्ने लिमिटेडसँग समेत जानकारी छैन ।

भेटिएको पाइप व्यवस्थापन भए पनि आगामी दिनमा पुनः नयाँ ठाउँमा पुरानो पाइपलाइन भेटिन सक्ने प्रवक्ता जोशीले बताए । अहिले तत्कालका लागि भेटिएको पाइप स्थानान्तरण र मर्मत गरिएको उनले बताए ।

उनले भने, ‘पाइप सडकको बीच भागमा हुँदा बढी क्षति पुगेको कारण अहिले पैदलयात्रु मार्गबाट हालिएको छ ।’

निर्माण सुरु भएको लामो समयसम्म विस्तार हुन नसेककै कारण सडक निर्माण ठप्प बनेको थियो । अहिले सरकारको निर्णयका आधारमा उपलब्ध चौडाइमा कालोपत्र भइरहेको छ ।

जति उपलब्ध छ, त्यतिमै काम भइरहेकाले तत्काल सडकमा अवरोध नभएको उनले बताए ।

विस्तारको काम भइरहेको नख्खुबाट चुनीदेवीसम्म झन्डै ५ किमी लम्बाइमध्ये कतै चौडाइ उपलब्ध भएको छ भने कतिपय स्थानमा संरचना नहटाइएकाले चौडाइ कम छ । पहिले ठेक्का सम्झौता हुँदा चौडाइ २० मिटर कायम गर्ने गरी सम्झौता भएको थियो । 

अहिले आयोजनाले चौडाइ उपलब्ध हुने खण्डमा मात्रै सडकसँगै आवश्यक संरचनाको निर्माण गरिरहेको छ । बुङ्मतीसम्मको अन्तिम विन्दुतर्फ कालोपत्र भएको र बीचमा कतै मन्दिर कतै जग्गा उपलब्ध नहुँदा बनाउन नसकिएको उनले बताए । 

अहिले सोह्रखुट्टेमा घर भत्काइरहेको र चुनीखेलमा पाटी, पर्खाल र एउटा कुखुरा फार्म भत्काएर चौँडा बनाउन लागिएको उनले बताए । उनले भने, ‘चौडा बनाएर ह्युमपाइप हाल्ने, पैदलमार्ग बनाउने र त्यसपछि मात्रै कालोपत्र गर्ने योजना छ ।’

सो सडकमा ठाउँठाउँमा गरी झन्डै २ किमीमा कालोपत्र गर्न बाँकी छ । पटक–पटक अवधि थप भइरहेकामा पछिल्लो पटक आयोजनाले आगामी महिनासम्मका लागि अवधि थपेको थियो । 

केही समय क्रसर उद्यमीको हड्तालका कारण काममा अवरोध पुगेको प्रवक्ता जोशीले बताए । केही समय पहिलेसम्म निर्माण सामग्री पाउनै समस्या भए पनि अहिले केही सजिलो भएको उनले बताए ।

पहिले डिजाइनमा भएको भन्दा सडकमा विभिन्न कुरामा परिवर्तन गर्नुपरेकाले सडक विभागसँग स्वीकृति लिएर कामअघि बढाइएको प्रवक्ता जोशीले बताए । 

सडक निर्माणका क्रममा चौडाइ बढ्दा र घट्दा वा अन्य कुरामा परिवर्तन हुँदा विभागले स्वीकृति दिएपछि काम गर्न सकिने व्यवस्था छ । सो सडकको निर्माण २ ठेक्कामार्फत अघि बढाइएको थियो । नख्खु खोलाबाट भैँसेपाटी ३।५२ किमी र भैँसेपाटी–बुङ्मती १।५५ किमी छ ।

सडक निर्माणको काम २०७३ असारमा सुरु भएको थियो । सडकको चौडाइ २० मिटर हुने र सडकमा वर्षाको पानी जाने पाइप, पैदलमार्गलगायत संरचना निर्माण गर्ने गरी ठेक्का सम्झौता भएको आयोजनाले जनाएको छ ।

आशिष बिरुवा सिएम जेभीले एउटा र पप्पु महालक्ष्मी वल्र्डवाइड जेभीले अर्को खण्ड सडक निर्माण गर्ने गरी सम्झौता भएको थियो ।

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १४:५०
प्रतिक्रिया दिनुहोस्