‘लघुवित्तलाई औँला देखाएर ऋण तिर्दिनँ भन्नु गलत हो’
काठमाडौँ– न्यून आय भएका घरपरिवारलाई सानातिना आर्थिक गर्जो टार्न वा उत्पादनमूलक काममा लगानी गर्न जनतालाई सहायता दिने उद्देश्यले विगत ३० वर्ष अघिदेखि लघुवित्त संस्थाहरू सञ्चालनमा छन् ।
सरकारले जुन उद्देश्य, मर्म र भावनाका साथ लघुवित्तहरू खोलेको हो, त्यसअनुसार चल्न नसकको गुनासो आउन थालेका छन् ।
लघुवित्त संस्थाहरूले मुलुकको गरिबी निवारण गर्न र वित्तीय पहँुच पुर्याउन खेलको महत्वपूर्ण योगदान पनि छ । तर, पछिल्लो समय लघुवित्तकै कारण ग्रामीण क्षेत्रका विशेष गरी महिला पीडित बनेको समाचार बाहिरिइरहेका छन् ।
लघुवित्तहरूले सेवा शुल्क, चर्को ब्याज र किस्ता असुल्न मालसामान नै उठाउने प्रवृत्ति बढ्दै गएको लघुवित्त पीडितहरूको गुनासो छ । लघुवित्तबाट ऋण लिने परिवार नै तहसनहस बन्ने अवस्थामा पुगेका छन् ।
यस्तो अवस्था हुनु राज्यको नियमनकारी निकाय वा स्वयं संस्था आफँै हो ? लघुवित्तको कमजोरी कहाँ कसरी भयो ? लघुवित्तमा देखिएको वर्तमान समस्या समाधान गर्न लघुवित्त र सरकारले कस्तो कदम चाल्दै छ भन्ने विषयमा न्युज एजेन्सी नेपालले लघुवित्त बैंकर्स संघका निवर्तमान अध्यक्ष तथा विजय लघुवित्तका प्रमुख कार्यकारी अधिकृत वसन्त लम्सालसँग कुराकानी गरेको छ ।
उनले राष्ट्र बैंकले लघुवित्तको आवश्यकता नहेरी एकैपटक धेरै लघुवित्तको लाइसेन्स दिँदा अहिलेको समस्या आएको बताए । लघुवित्तले ऋण असुलीको नाममा घरका भाँडाकुँडा र सरसामान नै उठाउनु गलत भएको भन्दै लघुवित्त करेक्सन भएर अगाडि बढ्न आवश्यक रहेको पनि बताए ।
उनै लम्सालसँग गरिएको कुराकानीको सम्पादित अंशः
पछिल्लो समय देखिएको लघुवित्तको समस्याको वास्तविकता के हो ?
पछिल्लो समय लघुवित्त वित्तीय संस्थाहरूसँग जोडिएको समस्या धेरै विषयवस्तुसँग जोडिएको समस्या हो । सबैभन्दा पहिला मुलुकको पछिल्लो आर्थिक अवस्था हो । जसमा आर्थिक मन्दी हो । विश्व नै आर्थिक मन्दीमा छ । त्यसको चपेटामा नेपाल पनि पर्छ ।
उद्योग व्यवसायमा समेत प्रभाव परेकाले व्यापारमा समेत मन्दी देखिएको छ । विगतमासय रुपैयाँको व्यापार गर्नेहरूले पनि १० रुपैयाँ व्यापार गरेर बस्न बाध्य छन् । आर्थिक रूपमा सबै मानिसहरू समस्यामा छन् ।
आर्थिक चक्रमा यस्तो हुन्छ । कोभिड महामारीपछि आर्थिक समस्याको प्रभाव र रुस र युक्रेन युद्धको प्रभावका कारण पनि समस्या भएको छ । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका ऋणीहरूलाई आफ्नो व्यापार व्यवसाय चलाउन गाह्रो छ । ऋण तिर्नैपर्ने छ । बैंकले व्यवसाय चलेको छैन भनेर ऋण उठाउन छोड्दैन । ऋण उठाउन जाँदा अहिलेको अवस्थामा आएको हो ।
लघुवित्तको हकमा सञ्चालनमा कमीकजोरी र एउटा व्यक्तिलाई धेरै लघुवित्तले ऋण दिएको कर्जा सूचना केन्द्रको डाटा थिएन । कुनै पनि व्यक्तिले कतैबाट पनि ऋण लिएको छैन भनेपछि लघुवित्तले ऋण दिने प्रचलन भयो । त्यो कारणले पनि अहिले धेरै संस्थाले एउटै व्यक्तिलाई ऋण दिएको अवस्था छ ।
त्यसले मल्टिपल ल्यान्डिङ भएर एउटै व्यक्तिलाई ऋणको भार धेरै भएको देखियो । यो विषयमा लघुवित्त संस्थागत र व्यक्तिगत रूपमा कमजोरी भयो । पछिल्लो समय अर्थतन्त्रमा संकट देखिएकाले बैंक तथा वित्तीय संस्थाहरूले ‘ऋण तिर’ भन्नु स्वाभाविक हो ।
पैसाको अभाव भइरहेको अवस्थामा व्यक्तिहरूसँग ऋण उठाउन खोज्दा समस्या भयो । ग्राहकले धेरै लघुवित्त संस्थासँग ऋण लिएकाले सबैले फोन गरेर ऋण उठाउन ताकेता गर्दा समस्या आयो । त्यस्ता ऋणीहरू कहाँ गएर यो ऋण नतिर्न पाए हुने थियो भनेर अहिले लघुवित्त संघर्ष समिति र मिडियामा गएर भन्ने गरेको देखिएको हो ।
विगतमा लघुवित्तहरूले गर्दै आएको कमजोरी र अहिले भइरहेको आर्थिक मन्दीका कारण सिर्जना भएको समस्या हो यो ।
लघुवित्त संस्थाहरूमा आएका समस्याको जड के हो, यो कसरी आयो ?
समस्या आउनुमा लघुवित्त संस्थाहरू नै जिम्मेवार छौँ । संस्थागत रूपमा लघुवित्त धेरै भएर पनि होला । तर त्यसको करेक्सनको सुरुआत भएको छ । मर्जरका कारण संस्थाहरू कम हुँदै गएका छन् । दर्ताको प्रक्रियाका कारण पनि संस्था धेरै भए । त्यसपछि जसरी लघुवित्त संस्थाहरू सञ्चालनमा आए, तत्काल नाफा ल्याउने प्रतिस्पर्धा पनि रह्यो ।
तर, नियम कानुनभित्र रहेरै त्यो काम भयो । धेरै लगानी गरेर धेरै नाफा गर्छु भन्ने कुरा कानुनविपरीत होइन । लघुवित्तको ब्याजदर, सेवा शुल्क नियमनकारी निकायले तोकेको गर्ने र तत्काल नाफा कमाउने रफ्तारमा जाँदा समस्या आएको हो ।
त्यस्तै, लघुवित्तको सदस्य भएर ऋण लिने व्यक्तिहरूले पनि बैंक तथा वित्तीय संस्थाहरूबाट लिने ऋणको विषयमा जानकारी नलिएकाले समस्या देखिएको हो । लघुवित्त सामूहिक ऋणमा चल्ने हो, तर अहिले एकले अर्काको जमानी बस्दैन । एक जना ऋण तिर्न नसकेर भागिदिँदा समग्र समूहमा समस्या देखिएको छ ।
यी सबै समस्या अर्थतन्त्रमा समस्या परेका बेला देखिएका कारण बाहिर देखिएका हुन् । विगतमा पनि यस्ता समस्या नभएको होइन ।
लघुवित्त वित्तीय संस्थाहरू जुन मूल्य र मान्यतामा चल्नुपर्ने हो, त्यसविपरीत चल्न खोज्दा यस्तो समस्या आएको हो ?
लघुवित्तहरू जुन मूल्य र मान्यतामा चल्नुपर्ने थियो, त्यसरी नचल्दा पनि समस्या आएको हो । लघुवित्त संस्था मापदण्डभन्दा बाहिर गएर चल्न खोजेको कुरा हामी स्वीकार गर्छौँ । लघुवित्तले ऋणीहरूलाई वित्तीय साक्षरता दिनुपर्ने, सचेत बनाउनुपर्ने नियम छ । त्यो नियमविपरीत धेरै बाहिर पनि गएको होइन । तर लघुवित्तले गर्नुपर्ने काउन्ट सेलिङमा कमी भएको हो ।
अहिले ऋणीहरू धेरै कानुनी प्रक्रिया पूरा गर्न चाहँदैनन् । छिटो काम चाहिन्छ । अहिलेको युवा पुस्ता प्रक्रिया पूरा गर्नुभन्दा लघुवित्तलाई नै गाली गर्छ । लघुवित्तहरूले ऋण दिन कडाइ गर्न थाल्यो भने लघुवित्तले ऋण नै दिँदैन भनेर विरोध सुरु हुन्छ । संस्थाले ऋण दिन पनि विभिन्न प्रक्रिया देखाएर बिनाकारण दुःख दिन्छ भन्ने समस्या आउँछ । दियो भने सजिलै किन दिएको भनेर प्रश्न गरिन्छ । यो समस्यामा लघुवित्त र ऋण लिनेहरू दुवैको कमजोरी छ ।
लघुवित्त संस्थाहरूमा समस्या आउनुमा राष्ट्र बैंकको नियमनमा कमजोरी भएर हो वा संस्थाहरू स्वनियमन हुन नसकेर हो ?
लघुवित्तको सिद्धान्त स्वनियमनमा बस्ने हो । स्वनियमनमा पनि बस्छौँ । स्वनियमनमा बस्न नसकेको होइन । तर, कुनै एउटा व्यक्तिले १५ लाख ऋण लग्यो । त्यो राष्ट्र बैंकको नियमनभन्दा फरक हो । यसमा प्रश्न आउँछ ।
लघुवित्तमा विगतमा कर्जाको डाटाबेस थिएन । कुनै एउटा महिला आएर समूहमा बसिन् । कतैबाट ऋण लिएको छ भनेर सोध्दा छैन भन्छिन् । उनले लिएको कर्जाको डाटा हेर्ने माध्यम लघुवित्तसँग थिएन । त्यस्तो अवस्थामा एकजना ऋणीले कतै ऋण लिएको छैन भन्दै धेरै संस्थाहरूमा ऋण लिने गरेको देखियो ।
तर, ऋण लिने व्यक्तिले लघुवित्तलाई अन्य संस्थाबाट ऋण लिएको विषयमा जानकारी दिएन । त्यसैले लघुवित्तको सिस्टमले लघुवित्तमा ऋण लिन आउने ग्राहकले अन्य संस्थाबाट लिएको ऋणको डाटा लिन अहिले पनि सक्दैन ।
कर्जा सूचना केन्द्रमा हेर्दा एउटा व्यक्तिले १५ वटा संस्थाबाट ऋण लिएको देखिएको छ । विगतमा त्यस्तो थिएन । लघुवित्त संस्थाहरू स्वनियमनमा बस्न चाहँदा चाहँदै पनि थाहा नपाएर बस्न नसकेको हो ।
सबै लघुवित्त स्वनियमनमा बसेका छन् भन्ने होइन । कसैले आँखा चिम्लेको पनि होला । स्वनियमन भनेको नैतिकता हो, सबैमा नैतिकता नहुन सक्छ ।
त्यस्तै राष्ट्र बैंकले पनि सबैलाई नियमन गर्न नसकेको हो । ऋणीले कति संस्थामा ऋण लिएको छ भन्ने डाटा राष्ट्र बैंक र लघुवित्तसँग नभएपछि नियमन भएन । पछिल्लो समय डाटा आएपछि थाहा भयो । अहिले पनि कर्जा सूचना केन्द्र प्रभावकारी छैन ।
अहिलेको समस्या आउनुमा लघुवित्त संस्थाहरूको कुनै दोष छैन भनेर कसरी भन्न सकिन्छ ?
पछिल्लो समय लघुवित्त खारेज गर्न माग भइरहेको छ । लघुवित्त संस्था खारेज र संस्थाको ऋण मिनाहा हामीले गर्ने होइन । एउटा संस्थाले मिनाहा गर्न सक्दैन । यस्ता विषय हामीसँग सरोकार भएको विषय होइन । खारेज गर्ने भए नेपाल सरकारले गर्नुपर्छ ।
लघुवित्त संस्था आवश्यक नभए सरकारले त्यहीअनुसार वित्तीय नीति बनाउनुपर्यो । सरकारले लघुवित्त संंस्था खारेज गरेर कसलाई प्राथमिकता दिनुपर्ने हो । ग्रामीण क्षेत्रमा लघुवित्त नभएको स्थानमा मिटरब्याज चलिरहेको छ । विगतको जस्तो साहु महाजन जस्तै मिटरब्याजीलाई प्रोत्साहन गर्नुपर्यो ।
लघुवित्त संस्थाहरूले नेपालमा गरिबी अन्त्य गर्न ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पुर्याउन काम गरेको ४० वर्ष भयो । अहिलेसम्म धेरै समस्या थिएन । अहिले अर्थतन्त्रमा मन्दीका कारण समस्या आएको हो ।
नेपालभरका ६० लाख नागरिकलाई बैंकिङ पहुँचमा यसैले जोडेको छ । ३३ लाखलाई ऋण प्रवाह गरेर व्यवसायी बनाएको छ । महिलाहरूलाई उद्यमशील बनाएर वित्तीय साक्षरता दिँदै अगाडि बढाएको छ । लघुवित्तले हजारौँ मानिसलाई सफल बनाएका उदाहरण छन् ।
पछिल्लो समय लघुवित्तका कारण घरबाट भाग्नुपर्ने अवस्था आयो भन्नुभएको छ । त्यस्तो अवस्था किन आयो ? त्यो अवस्था ऋणी आफैँले पनि बनाएको हो । ऋण धेरै भएर तिर्न नसक्ने अवस्था भएपछि रुन्छन् ।
घर छाड्ने र आत्मदाहाको बाटो रोज्ने भन्दा पनि समस्याको समाधानतर्फ सबै केन्द्रित हुनु आवश्यक छ । आत्महत्या गर्नु दुभाग्यपूर्ण र नराम्रो कुरा हो ।
लघुवित्त संस्थामा भएका विकृतिलाई सुधार गर्ने हो । संस्था बन्द गर्ने विषय तत्काल समस्याको समाधान होइन ।
लघुवित्तका कर्मचारीहरूले ऋणीहरूको घरमा गएर विभिन्न यातना दिएका घटना आएका छन् ? कर्मचारीहरूलाई मध्यराति १२ बजेसम्म ऋण उठाउन पठाउनुहुन्छ ?
ऋणीहरूको घरमा गएर लघुवित्तले ताल्चा लगाउने, घरको समान जफत गर्नु गलत हो । कुनै पनि लघुवित्तले गरेको छ भने पनि गलत हो ।
लघुवित्तहरूले कर्मचारीहरूलाई त्यस्तो गराउनुहुँदैन । हामीले लघुवित्तका कार्यकारी निर्देशकहरूलाई भनेका छौँ । यदि विगतमा भएका छन् भने पनि तत्काल बन्द गर्न गर्न निर्देशन नै गरेका छौँ ।
किस्ता उठाउने विषयमा बिहान १० बजेदेखि ५ बजेसम्म भेट हुँदैन । फोन स्विच अफ गर्छ, त्यसलाई के गर्ने ? अफिस समयमा ऋणी घरमा भेट नहुँदा बेलुका कर्मचारी उसको घरमा गएको हुन सक्छ ।
ऋणीहरूले कार्यालय समयमा सम्पर्कमा रहनुभयो भने मध्यराति किस्ता उठाउन जाने कसैको रहर हुँदैन । ११ बजेसम्म घरमा ग्राहक आउँछ र कुरा गर्न बसेको हो, नराम्रो नियतले बसेको नहुन सक्छ । हामीले त्यो दृष्टिकोणमा पनि हेर्नुपर्छ । त्यसरी जानु रहर नभएर बाध्यता हो ।
लघुवित्तहरूले ऋणीबाट बढी सेवा शुल्कबापत लिएको १ अर्ब ६० करोड रुपैयाँ फिर्ता गर्ने सहमति गर्नुभयो, के हो वास्तविकता ?
सेवा शुल्कको व्याख्या र दृष्टिकोण फरक हो । राष्ट्र बैंकको निर्देशनलाई लघुवित्तले बुझेको र राष्ट्र बैंकको बुझाइ फरक भएकाले यस्तो भएको हो । त्यसमा केही विषयमा नियमनविपरीत गरेको भन्ने विषय स्वीकार गर्छु ।
तर, जुन रूपमा बाहिर आएको छ, त्योचाहिँ होइन । सरकार र लघुवित्तबीच रकम फिर्ता गर्ने विषय सत्य हो । लघुवित्तले सदस्यलाई केही सहुलियत दिने भनेर फिर्ता गर्ने विषय भएको हो ।
तर, नियमविपरीत उठाएका कारण पैसा फिर्ता गर्नुपरेको भनी गरिएको टिप्प्णी कसरी व्याख्या गर्ने भन्ने कुरा हो ।
लघुवित्तमा देखिएको समस्या लघुवित्त आफ्नै कारण र राष्ट्र बैंकले धेरैलाई लाइसेन्स दिँदा निम्तिएको समस्या भन्न मिल्छ ?
लघुवित्त संस्थामा समस्या आउनुको सुरुआत धेरै संस्था खोल्न लाइसेन्स दिनु पनि हो । लाइसेन्स दिँदा धेरै संस्था दर्ता भए । नयाँ–नयाँ क्षेत्रका लगानीकर्ता आए । लघुवित्तको मर्म बुझ्नेभन्दा फरक लगानीकर्ताको प्रवेश भयो ।
समस्या आउनुमा एउटा मात्रै फ्याक्टर होइन । नाफा मात्रै खोज्ने लगानीकर्तालाई लघुवित्तको लाइसेन्स दिएर पनि हुन सक्छ । लाइसेन्स दिँदा पनि संस्थाको गुणस्तर हेरिएन ।
त्यसरी खोलिएका लघुवित्तहरू नाफामा मात्रै केन्द्रित भए । १ वर्षभित्रै लघुवित्त नाफामा आउनुपर्छ भन्ने उद्देश्य लगानीकर्तामा हुँदा अस्वस्थ प्रतिस्पर्धा बढ्ने पक्ष पनि एक हो । समस्या आउनुमा एउटा मात्रै पक्षको कारण छैन ।
अब कसरी अगाडि बढ्न सकिन्छ, लघुवित्तप्रति विश्वास गुम्ने खतरा बढ्ने देख्नुभएको छैन ?
मुलुक यतिबेला आर्थिक मन्दीको चरणमा छ । सबै व्यवसाय चुनौतीपूर्ण अवस्थामा छ । आर्थिक गतिविधि धेरै कम छन् । त्यसकारण अब बाँच्ने र बचाउने सिद्धान्तमा अगाडि बढ्नुपर्छ ।
लघुवित्त संस्थाहरू चल्नुपर्छ । सबै ऋण मिनाहा, ब्याज छाडेर संस्था चल्दैन । एउटा ऋणीले पैसा तिरेन भने निक्षेपकर्तालाई पनि पैसा दिन सकिदैन । त्यस्तो भयो भने बैंकिङ प्रणाली ध्वस्त हुन्छ ।
अहिले उत्पन्न भएका समस्यालाई गहन रूपमा हेरर समाधान गर्न सकिने गर्ने र नसकिनेलाई राज्यको कुनै कोषबाट समाधान गर्नुपर्छ । ऋणीलाई किस्ता तिर्न समय दिने हो ।
विगतमा लघुवित्तबाट ऋणको दुरुपयोग भयो । संस्थाले पनि नियमन गरेन । ऋण लिनेहरूले पनि सहज रूपमा अर्को ठाउँमा प्रयोग गरे । अब ऋणीले पनि ऋणको दुरुपयोग गर्दिनँ भनेर आउँदा समस्या समाधान हुन्छ ।
हामीले धैर्य गर्ने, सम्भावना के छ, कसरी अगाडि बढ्न सकिन्छ भनेर संस्था र व्यक्तिहरू पनि विकल्प खोज्न जरुरी छ ।
संस्थालाई किन पैसा दिएको भनेर औँला देखाएर ऋण र ब्याज तिर्दिनँ भन्न थालियो भने राम्रो हुँदैन ।
अबको समाधान भनेको ऋण तिर्ने समय थप गर्ने र अप्ठ्यारो परेकालाई सहजीकरण गर्नु हो । त्यो गर्न लघुवित्तहरू तयार छन् ।
पछिल्लो समय लघुवित्तका समस्या बाहिर आएसँगै विश्वास गुम्ने अवस्था देखिएको छ । कतिपयले लघुवित्त संस्था नबुझेर नै धारणा बनाएको पाइएको छ ।
सांसदहरूले समेत संसद्मा बोल्न थाल्नुभएको छ । सबैलाई लघुवित्तको विषयमा बुझाउन आवश्यक देखिएको छ । लघुवित्तले ३६ प्रतिशत ब्याज लियो भन्ने गरिएको छ । त्यो हुनै सक्दैन । प्रमाण भए राष्ट्र बैंकमा उजुरी दिन आग्रह छ ।