Nic Ad Nic Ad
Nic Ad Nic Ad

निजामती ऐन बन्ने अन्तिम चरणमा– मन्त्री राई

बिहीबार, फागुन ११, २०७९

धनकुटा– सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले निजामती ऐन निर्माणको अन्तिम चरणमा रहेको जानकारी दिएका छन् ।

धनकुटाको सहिदभूमि गाउँपालिकाले आयोजना गरेको सम्मान कार्यक्रममा उहाँले ऐन निर्माणका लागि सरकारले ‘टेबुलेसन’को सबै काम सकेको जानकारी दिए ।

‘अब निजामती कर्मचारीहरूको समस्याको समाधान चाँडै हुन्छ’, मन्त्री राईले भने । उनले जनताका काम सहज र सम्मानपूर्वक गर्न पनि सबै कर्मचारीलाई निर्देशन दिए ।

मन्त्री राईसहित धनकुटा प्रदेशसभा (१)का सदस्य निरन राईलाई गाउँपालिका अध्यक्ष मनोज राई र प्रमुख प्रशासकीय अधिकृत नवीन कार्कीले सम्मान गरेका थिए । छुट्टै भेटमा प्रशासकीय अधिकृत कार्कीले पुरानै निजमती सेवा ऐन, २०४९ अनुसार काम गर्नुपर्दा कर्मचारीको वृत्ति विकास र पेशागत सुरक्षामा समस्या भएको जानकारी दिए ।

देश सङ्घीयतामा गएपछि समायोजन ऐन ल्याएर तीनै तहका कर्मचारी समायोजन गरिए पनि ऐन बनेर नआउँदा प्रदेश र स्थानीय तह आफैँले कामचलाउ ऐन ल्याएर काम गरिरहेको उनले जानकारी दिए । ‘त्यो पनि भोलि सङ्घको ऐनसँग बाझिने हो कि के हुने हो थाहा छैन’, कार्कीले गुनासो पोखे ।

सहिदभूमि पुगेका मन्त्री राईले पालिकाको वडा नं ६ थलथले बजारमा रहेको ठाकुरदेवी माविको ६९ लाख ५० हजार रुपैयाँमा नवनिर्मित चारकोठे भवनको उद्घाटन गरेका छन् ।

यसै क्रममा नेकपा (एमाले) सहिदभूमि गाउँ कमिटीले आयोजना गरेको कार्यक्रममा पुगेर राईले विसं २०३६ मा पञ्चायती शासकहरुद्वारा हत्या गरिएका १६ सहिदहरूको सालिकमा माल्याअर्पण गरे ।

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  २०:११
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार