Nic Ad Nic Ad
Nic Ad Nic Ad

दिक्तेल–मानेभञ्ज्याङमा अबदेखि नियमित बस सेवा, भाडादर कायम

शुक्रबार, फागुन १२, २०७९

खोटाङ– जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित अल्छेढुंगाबाट दोर्पाको दुम्ली हुँदै साकेला गाउँपालिकाको केन्द्र मानेभञ्ज्याङसम्म नियमित बस सेवा सञ्चालन भएको छ । गाउँपालिकासँगको सहकार्यमा खोटाङ यातायात प्रालिको बसमार्फत बिहीबारबाट उक्त सडकखण्डमा नियमित सेवा सञ्चालन गरिएको हो । 

दिक्तेलबाट ३९ किलोमिटर लामो उक्त सडकखण्डमा नियमित बस सञ्चालन गर्न जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई, यातायात व्यवसायीलगायतका टोली मानेभञ्ज्याङ पुगेका थिए । नियमित बस सेवा सञ्चालनका लागि परीक्षण गर्न गएको टोलीलाई साकेला गाउँपालिका प्रमुख रविप्रकाश राई, उपप्रमुख बिर्सिका राईलगायत स्थानीय बासिन्दाले स्वागत गरेका थिए । 

नियमित बस सञ्चालनका लागि गरिएको परीक्षण सफल भएपछि गाउँपालिका प्रमुख राईको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले उक्त सडकखण्डमा चल्ने बसको भाडादरसमेत कायम गरेको छ । कायम गरेको भाडादरअन्तर्गत साकेला गाउँपालिका–२ रतन्छाको सुर्के सिलापाबाट दिक्तेलसम्म रु पाँच सय, नैनेपाटी, स्कुल एरिया, मबु, यातिम्छाचोकबाट दिक्तेलसम्म रु चार सय५० र यातिम्छाचोक, पिनालाखा र साल्मेबाट दिक्तेलसम्म रु चार सय भाडादर कायम गरिएको छ ।

यस्तै, लामदुवाली–दिक्तेल रु तीन सय ७०, चम्पा–दिक्तेल रु तीन सय ५०, चिउरीडाँडा–दिक्तेल रु तीन सय, दुम्ली–दिक्तेल रु दुई सय ६०, रुवाबु–दिक्तेल रु दुई सय ४०, च्यानडाँडा–दिक्तेल रु एक सय ८० र मोहोरिया–दिक्तेल रु एक सय ३० भाडादर कायम गरिएको छ । उक्त रुटमा नियमितरूपमा बस सञ्चालनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र साकेला गाउँपालिकाले आफ्नो क्षेत्रमा पर्ने भूगोलमा सधँैभरि यातायात सञ्चालन हुने गरी मर्मतसम्भार र विस्तार गर्ने सम्झौता भएको छ । 

दिक्तेलबाट रतन्छासम्म समान ढुवानी गर्नका लागि एक जना व्यक्तिको १० केजीसम्म निःशुल्क र सोभन्दा माथि भएमा प्रतिकेजी रु चारका दरले भाडा लाग्ने निर्णय भएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए । उक्त स्थानसम्म चामल तथा दाल ढुवानी गर्दा प्रतिबोरा रु एक सय लिने निर्णय गरिएको छ । 

गाउँपालिकाको कार्यालय मानेभञ्ज्याङमा भएको बैठकलाई सम्बोधन गर्नुहुँदै गाउँपालिका प्रमुख राईले नागरिकको सहजताका लागि स्थानीय सरकार सकारात्मक भएको र जस्तोसुकै समस्यालाई पनि सहज तवरबाट समाधान गर्नेतर्फ संवेदनशील भएको बताएका छन् । बैठकमा खोटाङ यातायातका वरिष्ठ उपाध्यक्ष फडिन्द्रकुमार राई, महासचिव हिङमाङ, कोषाध्यक्ष गोविन्दबहादुर कटवाललगायत यातायात व्यवसायी, जनप्रतिनिधि तथा स्थानीयवासीको सहभागिता थियो । 

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  ०७:१०
प्रतिक्रिया दिनुहोस्