कृषि विकास बैंकको अध्यक्षमा रामशरण पुडासैनी
काठमाडौँ– कृषि विकास बैंकको सञ्चालक समिति अध्यक्षमा रामशरण पुडासैनी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले उनलाई अध्यक्ष पदमा नियुक्त गरेको हो ।
निजामती सेवामा लामो अवधिसम्म कार्यरत रहेर राजस्व सचिवबाट अनिवार्य अवकाश प्राप्त पुडासैनीसँग आर्थिक क्षेत्रलगायत विभिन्न निकायमा कार्य गरेको अनुभव छ ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनअनुसार नवनियुक्त बैंक अध्यक्षलाई नेपाल राष्ट्र बैंकका गभर्नरसमक्ष शपथ ग्रहण गराउनुपर्ने प्रावधान अनुसार अध्यक्ष पुडासैनीलाई बालुवाटारमा गभर्नर महाप्रसाद अधिकारीले शपथ गराए ।
उक्त अवसरमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरहरू नीलम ढुंगाना तिम्सिना, बमबहादुर मिश्र, बैंक नियमन विभागका कार्यकारी निर्देशक गुणाखर भट्ट, नेपाल राष्ट्र बैंकका बोर्ड सचिव मुक्तिप्रसाद सापकोटा, कृषि विकास बैंकका सञ्चालक समिति सदस्य सुमन दाहाल, विनोदकुमार गुरांगाई, बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, कम्पनी सचिव तथा प्रवक्ता हिमलाल पौडेललगायत उपस्थित थिए ।